☰ open Loading... 2 May 2024|  

बर्षेनी कर्णाली राजमार्गमा नयाँ पहिराे, यात्रुलार्इ सास्ती
  | १८ भाद्र २०७४, आईतवार ०९:५४

गोविन्द देवकोटा
जुम्ला । राजमार्ग सञ्चालनमा आएको एक दशक बढी हुँदा कर्णाली राजमार्गमा वर्षेनी नयाँ पहिरो जाने गरेका छन् । कमजोर भौगोलिक बनावट र सडक निर्माणका समयमा ब्लास्टीङ्ग गरिएका कारण वर्षेनी नयाँ ठाउँमा पहिरो जाने र सडक हप्तौसम्म अबरुद्ध हुने गरेको छ ।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार केही ठाउँमा पहिलेदेखि पहिरो खस्ने भएपनि पछिल्लोद दुईवर्षयता नयाँ ठाउँमा पहिरो खस्न थालेको छ ।  यसअघि दहीखोला, खिड्कीज्यूला र सेरीघाट क्षेत्रमा निरन्तर पहिरो जाने भएपनि ठूलो समस्या उत्पन्न हुने गरेको थिएन । तर गतवर्षदेखि नयाँ नयाँ स्थानमा पहिरो जान थालेका छन् ।

यसवर्षको वर्षात कर्णाली राजमार्ग गतवर्षभन्दा निकै सास्तीपूर्ण भएको छ । साना ठूला गरी एकदर्जन बढी ठाउँमा नयाँ पहिरोहरु खस्न थालेपछि सडक खुलाउन निकै सास्ती भएको छ । गोगने खोलामा करिब एकसय मिटर बढी पहिरो खसेपछि चारदिनदेखि सडक अबरुद्ध बनेको छ । सडक डिसभजन कार्यालय जुम्लाका निमित्त प्रमुख अंगलाल रोकायाका अनुसार निरन्तर सुख्खा पहिरो खसेका कारण समयमै पहिरो पन्छाउन सकिएको छैन ।

निरन्तर पहिरो आउन थालेपछि कर्मचारीहरुको ज्यानको सुरक्षालाई ध्यानमा राखेर पहिरो पन्छाउने कार्य राकिएको थियो ।  यसवर्ष पहिरो खसेको गोगने खोला क्षेत्र नयाँ पहिरो हो । ‘यसअघि गोगने खोलामा कुनै पहिरो थिएन,’ निमित्त प्रमुख रोकायाले भने, ‘तर वर्षात सुरु भएसँगै सबैभन्दा ठूलो पहिरो त्यही खोलामा नै आयो । यसवर्ष मात्रै गोगने खोलामा नै तीनपटक भन्दा बढी ठूलो पहिरो खसेको छ ।’

गत सोमबारदेखि परेको पानीका कारण गोगने खोलामा डेढसय मिटर बढी क्षेत्रमा ढुंगामाटो सहितको पहिरो खसेको छ । यस्तै कालिकोट सदरमुकाम मान्मभन्दा केही किलोमिटर तलतिर सुनारखोलामा पनि यसवर्ष नयाँ पहिरो खसेको छ । सुनारखोलामा पानीका मुलहरु देखा परेका कारण दैनिक पहिरो खसिरहने गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

सदरमुकाम पुग्न १५ मिनेट बाँकी रहँदा पनि हिलाम्य पहिरोका कारण घण्टौंसम्म सुनारखोलामै सवारीसाधन जाममा पर्ने गरेका छन् । सुनारखोलामा पहिरो खस्नेबित्तिकै गाडी आवतजावतमा सहज बनाउनका लागि एउटा स्कोभटर स्ट्यान्ड राख्नुपर्ने सडक कार्यालय बताउँछ ।

हाल गोगने खोलाको पहिरे पन्छाउनका लागि दुईवटा स्काभेटरले काम गरिरहेका छन् । एउटा जुम्ला र अर्को सुर्खेतबाट आएका स्काभेटरले काम गरिरहेपनि निरन्तर सुख्खा पहिरोका कारण पहिरो पन्छाउने कार्यमा सहज नभएको सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख रोकायाको भनाई छ । उनका अनुसार पहिरो ठूलो भएपछि छिटो पन्छाउनका लागि नेपालगञ्जबाट अर्को थप स्काभेटर झिकाइएको छ ।

यस्तै एकमहिनाअघि कालिकोटमा पल्टीएको सडकको नयाँ स्काभेटर पनि एक हप्तापछिबाट पुननिर्माण गरी सञ्चालनमा आउने बताइएको छ । रोकायाका अनुसार पहिरो खस्ने राकिएमा आइतबार साँझसम्म सडक सुचारु हुने तर पहिरो नरोकिएमा अँझै केही दिन लाग्नसक्छ । अहिले यात्रुहरुले तीन घण्टाजति हिँडेर गाडी साँटासाँट गरी गन्तव्यमा पुग्ने गरेका छन् ।

यस्तै, वर्षेनी नयाँ ठाउँमा पहिरो जाँदा यातायात सञ्चालनमा समस्या उत्पन्न भएको यातायात व्यवसायीहरु बताउँछन् । पहिलेदेखि पहिरो झर्ने ठाउँमा त्यति समस्या नदेखिएपनि नयाँ ठाउँमा खस्ने पहिरोका कारण असुरक्षा बढ्दै गइरहेको व्यवसायीहरुको भनाइ छ । यसवर्षमात्रै एसमोड, गोगने खोला, सुनार खोला र कालेखोलामा नयाँ ठूला पहिरो गइरहेका छन् ।

दहीखोला, घट्टेखोला, राँचुलीमा यसुअघि नै पहिरो खस्ने भएपनि त्यस क्षेत्रमा त्यति ठूलो समस्या नभएको सवारी चालकहरुको भनाई छ । कमजोर भूगोल र सडक निर्माण गर्दा असिमित रुपमा प्रयोग गरिएका बारुद्धका कारण जमिन कमजोर भएको र  पानी जमिनभित्र छिर्नासाथ पहिरो खस्ने गरेको सडक डिभिजन कार्यालय बताउँछ ।

कर्णाली राजमार्गमा वर्षेनी पहिरो जानुको मुख्य कारण भूगोल आफैमा कमजोर रहेकोमा त्यसमाथि ब्लास्टिङ्गले झनै खलबल्याएकोले निरन्तर पहाडै खस्न थालेको हो ।  गोगने खोलामा एकसय मिटर चौडा र तीनसय मिटर माथिबाट निरन्तर पहिरो खस्न थालेपछि त्यसक्षेत्रका स्थानीय त्रसित बनेक छन् ।

गोगने खोलाको पहिरोभन्दा माथिको गाउँनै खस्ने सम्भावना देखिएपछि बस्ती विस्थापन हुँदैछ । घर नैनदीमा पुग्ने डरका कारण पहिरोमाथि भएको गाउँका दुई घरपरिवार यसअघि नै वस्ती सरी गएको कालिकोट प्रहरीले बताएको छ । साथै पहिरो नरोकिएमा गाउँ नै बस्ती सर्ने मनस्थितिमा रहेको स्थानीयलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ ।

दशैं मुखैमा आएको बेला यात्रुहरुको चाप बढ्ने कर्णाली राजमार्ग हप्तौं बन्द भएपछि यहाका स्थानीय र व्यवसायी मर्कामा परेका छन् । चाडपर्वलाई  लक्षित गरी बिक्रीका लागि ल्याइएका सामानहरु बाटोमै थन्किदा आफुहरु समस्यामा परेके व्यवसायीको गुनासो छ । यस्तै सडक अबरुद्ध सममै नखुलेमा कालिकोट, मुगु र जुम्लामा महंगी मसेत बढ्ने सम्भावना देखिएको छ ।

(लेखक देवकाेटा अन्नपूर्ण दैनिकका जुम्ला सम्वाददाता हुन् ।)