मुगु । सोरु गाउँपालिका–६ की २२ वर्षीया जल रोकायाको अत्यधिक रक्तश्रावले बुधबार अकालमै ज्यान गयो । तीन दिनअघि घरमै सुत्केरी व्यथा लागेपछि रोकायालाई आधा घण्टा टाढाको नार्थपुस्थित प्रसूति केन्द्र लगिएको थियो ।
त्यहाँका स्वास्थ्यकर्मीले सुरक्षित प्रसूति गराउन सकेनन् । जिल्ला अस्पताल ठिनी लैजान सल्लाह दिए । घरबाट जिल्ला अस्पताल पुग्न करिब दुई दिन लाग्थ्यो । त्यता लैजान नसकेपछि आफन्तले उनलाई घरमै ल्याए । उनले एक मृत र अर्को जीवित छोरालाई जन्म दिइन् । तर अत्यधिक रक्तश्रावका कारण सुत्केरी भएको आधा घण्टामै रोकायाको मृत्यु भयो ।
गत वर्ष सोरु गाउँपालिका–४ की ३० वर्षीया नानी मल्लको पनि रक्तश्रावबाटै ज्यान गयो । उनको पनि नार्थपुस्थित प्रसूति केन्द्रले सुत्केरी गराउन नसक्दा रक्तश्राव भएर ज्यान गएको थियो । दुई वर्षअघि वडा नं. ८ की उजेलु बुढाको पनि प्रसूति गराउन लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो ।
रक्तश्रावले पहिलो गर्भमै पत्नीको ज्यान गएको रोकायाका पति धनराजले बताए । आमाको मृत्युपछि जीवित शिशुलाई जोगाउन समस्या छ । ‘बेलैमा जिल्ला अस्पताल पुर्याउन सकेको भए पत्नीको ज्यान बच्थ्यो कि ?’ उनले भने । सोरु गाउँपालिकाका महिलाले उपचार अभावमा बर्सेनि ज्यान गुमाउँदै आएका छन् । साउन महिनाको दोस्रो साता सोरु गाउँपालिका–८ की २९ वर्षीया महेश्वरा बुढालाई सुत्केरी गराउन जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै पर्ने सल्यान ओडारमा उनी सुत्केरी भइन् ।
समयमै गर्भ जाँच र सुत्केरी हुन बेलामै अस्पताल जानुपर्छ भन्ने जनचेतनाको कमीले गर्दा त्यस गाउँपालिकाका गर्भवतीको ज्यान जोखिममा पर्ने गरेको जिल्ला अस्पतालका चिकित्सक डा. जितेन्द्र कँडेलले बताएकाे खवर कान्तिपुर दैनिकमा छ । बुधबार रक्तश्रावले मृत्यु भएकी रोकायालाई समयमै जिल्ला अस्पताल पुर्याएको भए ज्यान बचाउन सकिने अवस्था रहेको उनले बताए । ‘परिवारको हेलचेक्रयाइँले उनको ज्यान गयो,’ डा. कँडेलले भने ।