☰ open Loading... 3 May 2024|  

मुगु जाने सडक अवरूद्ध हुँदा स्याउ ढुवानीमा समस्या
  | १८ भाद्र २०७४, आईतवार १०:३१

मुगु । कर्णाली राजमार्गको गमगढी–नाग्मा सडक सुचारु नहुँदा किसानलाई स्याउ ढुवानीमा समस्या भएको छ । बगैंचामा स्याउ पाकेर बिक्री गर्ने बेला भए पनि सडक नखुल्दा नेपालगन्ज र सुर्खेत लैजान कठिनाइ भएको किसानहरूको गुनासो छ ।

ढुवानी समस्याका कारण स्याउ कुहिन थालेका छन् । ताल्चा, कालापाल्ता, मैतु, कार्कीबाडा तलितुम, झापागार्डलगायत बस्तीहरूमा स्याउ पाकेर खेर जान थालेको किसानहरूले बताएका छन् । वर्षाका कारण साउन पहिलो सातादेखि अवरुद्ध सडक अझै खुल्न सकेको छैन ।

अधिकांश किसानले स्याउ टिपेर घरको भकारीमा थन्क्याएका छन् । हवाइजहाजबाट स्याउ ढुवानी गर्दा भाडा महँगो पर्ने भएकाले समस्या भएको हो । सडक मार्गबाट स्याउ ढुवानी गर्दा प्रतिकिलो ५० रुपैयाँ र जहाजबाट ढुवानी गर्दा प्रतिकिलो डेढ सय भाडा तिर्नुपर्ने किसानको भनाइ छ ।

‘सडक मार्ग नखुल्दा स्याउ बारीमै थन्क्यिो,’ ताल्चा गाउँका कर्णबहादुर भामले भने ‘रूखमा स्याउ पाकेर खेर जान थालिसके, सडक बन्द हुँदा बिक्री गर्न समस्या भो ।’ करिब ५ क्विन्टलभन्दा बढी स्याउ आफूले उत्पादन गरेको उनको भनाइ छ ।

सडक पुगेपछि किसानहरूले गाडीमार्फत स्याउ बिक्रीको लागि नेपालगन्ज, सुर्खेत, दैलेख, काठमाडौं र बर्दियासम्म पुर्‍याएर बेच्ने गरेका छन् । मुगुमा गोल्डेन डेलिसियस स्याउ प्रतिदाना ५ देखि १० रुपैयाँमा बेच्ने र उक्त स्याउ सहरमा पुर्‍याएपछि प्रतिकिलो ५० देखि ६५ रुपैयाँमा बिक्री हुने गरेको किसानहरूको भनाइ छ ।

सडक अवरुद्ध हुँदा तराईमा स्याउ लैजान समस्या भएको जिल्ला कृषि बिकास कार्यालयका प्राविधिक सहायक तेजबिक्रम मल्लले बताए । किसानले बारीको स्याउ टिपेर कार्टुनमा प्याकिङ गरे पनि ढुवानी गर्न समस्या भएको उनको भनाइ छ ।