☰ open Loading... 1 May 2024|  

‘रातै भयो कर्नालीको बाटो…’
  | १९ भाद्र २०७४, सोमबार १७:५५

सुर्खेत । पटकपटक भैरहने बस दुर्घटनाका कारण कर्णाली राजमार्गले मृत्युमार्गको उपमा पाएको छ । दुर्घटनाकै त्रासका कारण यात्रु, तीनका आफन्तहरुको सातो नै जाने गरेको छ । कर्णाली राजमार्गको वास्तविकता र दिवंगतहरुको स्मृतिका लागि त्यसै क्षेत्रका लोकप्रिय गायक धीरेन्द्र शाहीले देउडा कोशेली बजारमा ल्याएका छन् ।

‘रगतले रातै भयो कर्नालीको बाटो
राजमार्ग स्वर्गको बाटो दिउ“सै जाने सातो’
बोलको देउडा गीतमा गायिका सपना शाहीले स्वरमा साथ दिएकी छिन् । संगीत स्वयं धीरेन्द्र र शब्द रचना नेमबहादुर शाहीको रहेको मार्मिक गीत पछिल्लो समय कर्नाली क्षेत्रमा चर्चित छ । पछिल्लो समय युट्युबमा भाइरल बनेको छ । ‘देउडा भएकाले कर्णालीबासीको जनजिब्रो झुण्डिएको छ । दुखद घटनामा आधारित भएपनि सबैले रुचाए’ धीरेन्द्रले भने, ‘मनोरञ्जमात्र नभै यस गीले सरकारलाई राजमार्ग सुधार्न सन्देश पनि दिएको छ ।’ गीतमा एउटा अंश यस्तो छ:

‘कि बाटो सुधार की हटाइदेऊ गाडी चल्न
अकालमै नमार भोका नांगा गरिब जनता’
कर्णाली राजमार्गमा पछिल्लो पटक जेठ ३१ गते दैलेखको पीपलकोट खण्डमा यात्रुवाहक बस दुर्घटना हु“दा १२ को मृत्यु र, १८ जना घाइते भएका थिए ।

आफ्नो गीतले सडक सुधार गर्न सरोकारवालालाई रचनात्मक दबाब दिने विश्वास गर्छन् । दैलेखको ठाटीकाँध गाउँपालिका–६ तोलीजैसीका २४ वर्षीय धीरेन्द्रले ९ वर्षदेखि लोक, देउडा, आधुनिक गरी ८० भन्दा बढी गीत गाएका छन् ।

भेरी–कर्णाली क्षेत्रमा प्रगतिशिल÷जनवादी गायकको पहिचान बनाएका उनले स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा ‘सुन नेता हो’ बोलको गीत बजारमा ल्याएका थिए । त्यस्तै, नाकाबन्दीको विरोधमा ‘रारा नसुकोस, भेरी नसुकोस’ बोलको गीत गाएका थिए ।