☰ open Loading... 2 May 2024|  

शरीरभित्रको तस्बीर देखाउने क्यामेरा बन्यो
  | २० भाद्र २०७४, मंगलवार १९:०२

वैज्ञानिकले मानव शरीरभित्रका अंग हेर्न सकिने क्यामेरा निर्माण गरेका छन् । अहिले चिकित्सकहरू भित्री शारीरिक अंग परीक्षण गर्न इन्डोस्कोपी गर्छन् । शरीरभित्र हेर्न सकिने क्यामेरा खासमा इन्डोस्कोपी गर्दा चिकित्सकलाई सघाउन निर्माण गरिएको हो ।

इन्डोस्कोपीबाहेक स्क्यान र एक्सरे गरी चिकित्सकले भित्री अंगको स्वास्थ्य स्थिति पत्ता लगाउँदै आएका छन् । नयाँ क्यामेराले इन्डोस्कोपीको लचिलो लामो ट्युबको अगाडिबाट निस्कने उज्यालोजस्ता प्रकाशको स्रोतका माध्यमबाट शरीरभित्र काम गर्छ ।

‘यो क्यामेरामा बेग्लाबेग्लै काम गर्ने क्षमता छ,’ युनिभर्सिटी अफ एडिनवर्गका प्रोफेसर केव धालीवालले भने, ‘खासगरी शल्यक्रिया गरिरहेका बेला कुन डिभाइस कहाँ छ भनेर थाहा पाउनु अत्यन्त महत्वपूर्ण हुन्छ ।’

प्रारम्भिक परीक्षण अनुसार यो क्यामेरामा सामान्य परिस्थितिमा शरीरका कोसिकाको २० सेन्टिभिटरभित्र प्रकाशका स्रोत पत्ता लगाउने क्षमता छ ।

इन्डोस्कोपीबाट निस्कने प्रकाशले शरीर पार गर्न सक्ने भए पनि टिस्यु र विभिन्न अंगका कारण सिधा यात्रा गर्न नपाउँदा परावर्तित हुन्छन् वा भित्रै बिलाउँछन् । यसैकारण भित्री अंगको सफा र प्रस्ट तस्बिर खिच्न कठिन हुन्छ ।

विकसित नयाँ क्यामेराका माध्यमबाट सूक्ष्म कण (जस्तैः फोटोन कणहरू) पत्ता लगाउन सकिने भएको छ । क्यामेरा यति धेरै संवेदनशील छ कि टिस्यु हुँदै जाने प्रकाशको सूक्ष्म किरण पनि ‘क्याप्चर’ गर्छ ।

यो क्यामेराले शरीरबाट प्रकाश पार हुन लाग्ने समय पनि गणना गर्न सक्छ। अर्थात् यसले इन्डोस्कोपीको अघिल्लो टुप्पो शरीरभित्र कहाँ छ भन्ने बताउन सक्छ । वैज्ञानिकले बिरामीको बिछ्यौनामा राखेर नै प्रयोग गर्न सहज होस् भनेर यो क्यामेरा निर्माण गरेको बताएका छन् । स्वास्थ्यखवर