सुर्खेत । प्रदेश ६ मा हुने अपराधिक क्रियाकलाप अन्त्य गर्न नागरिकहरुको साथ आवश्यक रहेको प्रदेश ६ नम्बर प्रहरी कार्यालय सुर्खेतका एआईजी रणबहादुर चन्दले बताएका छन् ।
६ नम्बर प्रदेशमा ट्राफिक व्यवस्थापन, अपराधको अवस्था तथा लागू औषध दुव्र्यसनी सम्वन्धी वीरेन्द्रनगरमा सम्पन्न अन्तरिक्रिया कार्यक्रममा बोल्दै एआईजी चन्दले प्रहरी एक्लैले अपराध अन्त्य गर्न सक्ने भन्दै नागरिकहरुको साथ आवश्यक रहेको बताएका हुन् ।
याे पनि पढ्नुहाेस् । प्रदेश प्रहरी कार्यालय ६ नम्बरको एआईजीमा चन्द
एआईजी चन्दले प्रदेश भौगोलिक रुपमा विकट रहेपनि ठूला प्रकृतिका अपराधिक गतिविधि कम हुने गरेका जानकारी दिए । उनले प्रदेशमा सवैभन्दा डरलाग्दो रुपमा आत्महत्याका घटनाहरु हुने गरेको उल्लेख गरे । सडक दुर्घटना, लागु औषध र अन्य अपराधका घटना नियन्त्रण गर्नमा प्रहरीलाई निर्देशन दिएको बताएका एआईजी चन्दले प्रहरीलाई अपराध जस्ता कार्य संलग्न व्यक्तिलाई कानुनी कठघरामा ल्याउनमा सहयोग गर्न आग्रह गरे ।
याे पनि पढ्नुहाेस् । ‘दुर्घटना रोक्न कर्णाली हाइवेमा गस्ती सञ्चालन गर्दैछाैं’
प्रदेशमा हुने सडक दुर्घटनामा ७० प्रतिशत लापरवाही चालकहरुको हुने गरेको बताए । उनले लागु औषध र बन्यजन्तुको अंग चोरी निकासीका घटनाहरु पनि हुने गरेकोले नियन्त्रण गर्नमा प्रहरी कडा रुपमा लागेको उल्लेख गरे ।
पछिल्ला तीन वर्षको अवधिमा कर्तव्य ज्यान, भवितव्य, फुटकर ज्यान, विष सेवन, झुण्डी आत्महत्या र ज्यान मार्ने उद्योगतर्फ आर्थिक वर्ष २०७२।०७३ मा ५२७, ०७३।०७४ मा ५०३ र चालु आर्थिक वर्षको हालसम्म ५८ वटा घटना भएको तथ्याङ्क एआईजी चन्दले प्रस्तुत गरेका थिए ।
आत्महत्याको मुख्य कारण घरेलु हिंसा रहेको एआईजीको भनाई छ । सवारी दुर्घटनाको हकमा शहरी क्षेत्र भन्दा ग्रामिण क्षेत्रमा बढी हुने गरेको छ । शहरमा ६६ वटा सवारी दुर्घटना भएपनि ग्रामिण क्षेत्रमा १७५ दुर्घटना भएका छन् ।
तर एआईजी चन्दले हरेक अपराधको पछाडी लागु औषध भएकाले यसको नियन्त्रणमा सवै पक्ष गम्भीर भएर सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको औल्याए । सहभागीहरुले अपराधिक गतिविधि रोक्नमा साथ दिने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागाईँ, सह–क्षेत्रीय प्रशासक डा. मानबहादु विक, जिल्ला समन्वय समिति सुर्खेतका अध्यक्ष छविलाल सिग्देल, प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, गाउँ तथा नगरपालिकाका प्रमुख तथा प्रतिनीधि, नागरिक समाज, अधिकारकर्मी संघ संस्थाका प्रतिनीधि लगायतको उपस्थिती थियो ।