☰ open Loading... 28 April 2024|  

राजनीति मियो भुल्ने प्रचण्डसंग एकता असम्भव : वैद्य
  | २७ भाद्र २०७४, मंगलवार १०:३४

सुर्खेत । राजनीतिकको मियो भुल्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग पार्टी एकता असम्भव रहेको नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले बताएका छन् । पार्टी कार्यकर्तालाई आन्तरिक प्रशिक्षण दिन सुर्खेत आइपुगेका अध्यक्ष वैद्यले मंगलवार पत्रकार भेटघाटमा आफूहरुले देशमा नयाँ आन्दोलनको शुरुवात गर्न लागेको समेत दावी गरेका छन् ।

कांग्रेस र एमालेसंग उहाँका विचार मिल्छन् उतै पार्टी एकता गर्दा उपयुक्त हुने बताएका भएका अध्यक्ष वैद्यले राजनीति नै नमिल्ने उहाँसंग कसरी एकता गर्ने बरु मोहन विक्रम र विप्लवसंंग एकता गर्ने अभियानमा आफू केन्द्रीत भएको उल्लेख गरे ।

१० वर्षे जनयुद्वमा एउटै एजेण्डा बोकेर क्रान्तिमा लागेकै हो तर प्रचण्ड पुरानै राज्य सत्तामा विलिन भएर आफूहरुलाई धोका दिएकाले पार्टी एकता असम्भव भएको उनले बताए । राष्ट्रिय स्वाधिनता, जनगणतन्त्र र जनजिविका देशमा स्थापित नभएकाले फेरी जन संघर्षका लागि आन्दोलनमा होमिन लागेको उनको जिकिर छ ।

सहज रुपमा राज्य प्रस्तुत भएमा शान्तिपूर्ण र राज्य नै उग्रभए हतियार नै उठाएर जनसंघर्षमा जाने उनले बताएका छन् । आगामी मंसिरमा हुन लागेको संघ र प्रदेशको निर्वाचनमा सहभागी हुने वा नहुने भन्ने विषयमा पार्टीले कुनै निर्णय नलिएको जानकारी दिए । असोज २१ गते पार्टीको राष्ट्रिय सम्मेलनमा आफूहरु केन्द्रीत भएकाले चुनावका विषयमा केही दिनमा आधिकारिक धारण सार्वजनिक गर्ने बताए  ।