☰ open Loading... 18 November 2024|  

सरकारी विद्यालयकाे हविगत : कक्षा कोठामा ‘घाम पानी’
  | ३० भाद्र २०७४, शुक्रबार २०:१२

बुद्धिमान पुन
सल्यान । “पानी परेको बेलामा कक्षा कोठामा पानी आउछ, घाम लागेको बेलामा पनि कक्षा कोठामा नै घाम आउछ,” यो भनाई हो सल्यानको छत्रेश्वरी गाउपालिका –५ लेखपोखरामा रहेको महेन्द्र माद्यामिक बिद्यालयका छात्रा निशा पुनको । उनी अहिले कक्षा पाँचमा पढ्छिन । उनले बिद्यालयको भबन जिर्ण भएका कारण आफुले पढ्ने कक्षा कोठामा नै घाम पानी आउने गरेको बताईन् ।

उनले कक्षामा सरले पढाउदा पढाउदैँ पानी परेमा सबै बिद्यार्थीहरु पढाई छोडेर घर जाने गरेको बताईन । “सरले पढाई रहनु भएको हुन्छ, कहिले गृहकार्य जाँच गरिरहनु भएको हुन्छ, पानी प¥यो भने सर र बिद्यार्थी सबै कोठा छोडेर जान्छौँ” उनले भनिन् । उनले अघि भनिन, “बर्षायाममा त राम्रो संग पढ्न नै पाईदैन्, बेला बेलामा पानी पर्छ, पानी नपरेको समयमा टिनको पातामा खिया लागेर प्वाँल परेको छ, सबै घास भित्र आउछ ।”

उनले टिनको पातामा खिया लागेर प्वाँल परेका कारण कहिले घाम कहिले पानीले समस्या हुने गरेको बताईन् । उनले भनिन, “बिद्यालयमा पढ्न गाह्रो हुन्छ, घरमा बिहान साँझ पढ्छु ।”

“कक्षा कोठामा लगाएको टिनको पातामा खियाँ लागेका कारण कहिले घाम, कहिले पानी भित्र आउछ, पढाउन समस्या भएको छ,” सोही बिद्यालयका शिक्षक प्रेम बहादुर डाँगीले भने । उनले लामो समयसम्म पानी परेमा बिद्यालयको भवन नै भत्कने अबस्थामा रहेको बताए ।

बिद्यालय भवन जिर्ण छ, आकाशबाट आएको सबै पानी भित्र जान्छ, कुन बेला भत्कने हो ठेगान नभएकाे बताएका उनले भने, “कक्षामा पढाई रहेका हुन्छौँ, पानी प¥यो भने भित्र बस्ने अबस्था हुदैँन, भुई पोखरी जस्तै भैहाल्छ, अनि बिद्यार्थीहरुलाई घर पठाउछौँ ।”

बिद्यालयका प्रधानाध्यापक रोमहर्ष केसीले आफ्नो बिद्यालयको ६ कोठे भवन जिर्ण अबस्थामा रहेको उनकाे भनाइ छ । २०४६ सालमा निर्माण गरिएको भवनमा छाएका टिनको पातामा खिया लागेर ठूला ठूला प्वाँल परेका छन् ।

६ कोठे भवनमा २, ३, ४ र ५ कक्षाका बिद्यार्थीले पढ्ने गरेको र बाँकी दुई कोठामा कार्यालयको सामाग्री राख्ने गरिएकाे छ । “घाम पानी सबै भित्र जान्छ, पानीको त भित्र ताल नै भएको हुन्छ, कहिले भत्कने हो ठेगान छैन,” उनले थपे ।

प्रधानाध्यापक केसीले खिया लागेको छाना फालेर नयाँ लगाए पनि समस्या समाधान हुने बताए । “पुरानो टिन फालेर नयाँ टिन लगाए पछि भित्र घाम पानी जाने समस्या समाधान हुन्छ, तर बिद्यालय सँग पैसा छैन,” उनले भने ।

बिद्यालय भबन जिर्ण भएका कारण पठनपाठनमा समस्या भएको बारेमा सरोकारवालाहरुलाई जानकारी गराए पनि ध्यान दिएका छैनन् । बिद्यालय भवन जिर्ण भएकै कारण पठनपाठनमा समस्या भएको बताउदैँ उनले भवन मर्मतको लागी सहयोग गर्न उनले अाग्रह गरे ।

कक्षा दशसम्म सञ्चालन भएको यस बिद्यालयमा सबै ३ सय ६८ जना बिद्यार्थी अध्ययनरत छन् । भौतिक संरचना राम्रो नहुँदा जिल्लाका बिभिन्न बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई समस्या हुने गरेको छ ।