दैलेख – मिस नेपाल (२०१७) निकिता चाण्डक चिनमा हुने मिस वल्डमा भाग लिन जानु पूर्व सामाजिक कार्यमा संलग्न भएकी छिन् । उनले नेपालमा सामाजिक क्षेत्रमा गरेको प्रभाव विश्वमाँझ देखाउनका लागि दैलेख आएकी हुन् ।

उनी दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका लैनचौरमा आयोजित कार्यक्रममा महिनावारी हुँदा महिलाहरुले विशेष सरसफाई गर्नुपर्ने बताईन् । कार्यक्रममा उनले छाउपडीका बेला महिलाहरु सुरक्षित हुनुपर्ने, सरसफाईमा ध्यान दिनुपर्ने र महिनावारी हुँदा प्रयोग हुने कपडा सफा हुनुपर्ने लगायतका विषयमा आफ्नो भनाई तथा अनुभव साटेकी थिईन् ।

उनले विशेष सरसफाईमा जोड दिन सहभागी किशोरी तथा महिला दिदिबहिनीसंग आग्रह गरेकी थिईन् ।
उनले सहभागी दिदिबहिनीलाई आधा घण्टा लगातार सरसफाई सम्वन्धी आफ्नो भनाई राखेकी थिईन् । सहभागीहरुले महिनावारी हुँदा सरसफाईमा आफुमात्रै नभई सवै दिदि बहिनीलाई सचेत गराउने उद्घोष गरे ।

उनले सहभागी सवैलाई सरसफाई सम्वन्धी सामाग्री पनि वितरण गरेकी थिईन् । मिस नेपालसंगै दैलेखका सामाजिक अगुवा बासना थापा पनि पुगेकी थिईन् । मिस नेपाल निकिता चाण्डकले विकट नगरपालिकामै पुगेर घरदैलो समेत गरेकी थिईन् ।
घरदैलोमा उनले विशेष महिनावारी हुँदा सरसफाईमा ध्यान दिनुपर्ने सचेतना सन्देश दिएकी थिईन् ।