☰ open Loading... 19 April 2024|  

सुर्मादेवी मेलामा मदिरा सेवन गर्नेलाइ २२ सय र विक्रेतालार्इ पाँचहजार जरिवना
  | २० आश्विन २०७४, शुक्रबार १६:३८

बझाङ । जिल्लाको सदरमुकाम चैनपुरमा लाग्ने ऐतिहासिक सुर्मादेवी मेला बिहीबारबाट शुरु भएको छ । वर्षेनी बडादशैँपछि कोजाग्रत पूर्णिमाका दिनमा लाग्ने सुर्मादेवी मेलामा सुर्मा मन्दिरमा पूजाआजा गर्नुका साथै महिला पुरुषका डेउडा खेल भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रमको आयोजना गरी धुमधामका साथ तीन दिनसम्म मनाइने गरिन्छ ।

यस पटकको मेलामा अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिता र महिला पुरुष डेउडा खेल र स्थानीय लोगसंस्कृति झल्कने गरी कलाकारले नृत्य प्रदर्शन गरिने कार्यक्रम रहेको सुर्मादेवी मेला व्यवस्थापन समितिका संयोजक तथा जयपृथ्वी नगरपालिका वडा नं १० का वडाध्यक्ष दलबहादुर विष्टले जानकारी दिए ।

दशैँपछि सदरमुकाम चैनपुरमा मेला लाग्ने भएकाले जिल्लाका अधिकांश मानिस आफन्तसँग भेटघाट गर्नुका साथै मेला हेर्न चैनपुरमा आउने हुनाले ठुलो भीडभाड लाग्ने गर्दछ ।

जात्रामा स्थानीय उत्पादित वस्तुको बजारसमेत लाग्ने गर्दछ । मेलामा मदिरा सेवन गरी होहल्ला गर्ने र यात्रुलाई असर पर्ने भएकाले यसपालिको मेलामा शान्ति सुरक्षालाई कडा पारिएको छ । मेलालाई मध्यनजर गरी चैनपुरको चार किल्लाभित्र मदिरा सेवन गरी होहल्ला गर्नेलाई रु दुई हजार २०० जरिवाना र मदिरा बिक्री वितरण गर्नेलाई रु पाँच हजार जरिवाना तोकिएको मेला व्यवस्थापन समिति सदस्य ललित सिंहले जानकारी दिए ।

मेलामा भलिबल प्रतियोगिताको प्रथम पुरस्कार रु एकलाख एक हजार राखिएकाले ७ नम्बर प्रदेशका सबै जिल्लाबाट खेलाडी आउने क्रम जारी रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नरेश सिंहले बताए । मेलाकै अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयले आफ्ना सन्देशसहितका ब्यानरले सदरमुकाम चैनपुरलाई दुलहीझैँ सजाइएको छ ।