☰ open Loading... 4 May 2024|  

अझै स्थापना भएनन वडा कार्यालय, सेवाग्राहीलार्इ सास्ती
  | २१ आश्विन २०७४, शनिबार १२:२४

डडेल्धुरा । स्थानीय तहको निर्वाचन भएको तीन महिना बितिसक्दा पनि वडा कार्यालय स्थापना हुन नसक्दा अमरगढी नगरपालिकाका सेवाग्राहीलाई सास्ती भएको छ । ११ वडा रहेको अमरगढी नगरपालिकाका हालसम्म १ वडाको मात्रै कार्यालय स्थापना भए पनि व्यवस्थापन भने हुननसकेको जन निर्वाचित प्रतिनिधिको भनाइरहेको छ ।

सो नगरपालिकामा व्यवस्थित रुपमा एउटा पनि वडा कार्यालय स्थापना हुनसकेको छैन, भने भित्री मधेशमा रहेको परशुराम नगरपालिकाका १२ वडामध्ये ८ वडाका कार्यालय स्थापना भएका र बाँकी चारवटा वडाका कार्यालय भने चाँडै स्थापना गरिने परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले जानकारी गराए ।

नगरपालिका जस्तै कतिपय गाउँपालिकामा पनि वडा कार्यालय स्थापना हुनसकेका छैनन् । भागेश्वर गाउँपालिका– ५ सिराडमा कार्यालय कुन स्थानमा राख्ने भन्ने विषयमा स्थानीयस्तरमै विवाद आउँदा कार्यालय राख्न नसकेको जनाइएको छ । वडा कार्यालय स्थापना नहँुदासम्मका लागि गाउँपालिकाको कार्यालयबाट नै सेवा दिइरहेको छ ।

कतिपय स्थानमा पुरानै भवन हुँदा सेवा सुचारु भएका छन् भने नयाँ घोषणा गरिएका वडामा कार्यालय राख्न समस्या भएको छ । आलिताल गाउँपालिका, गन्यापधुरा, नवदुर्गा र अजयमेरु गाउँपालिकामा थप भएका वडामा कार्यालय स्थापना गर्न समस्या भएको छ ।

अमरगढी नगरपालिकाको भवनमा कोठाको अभाव हुँदा सेवाग्राहीलाई मात्रै नभइ वडा अध्यक्षलाई समेत कामकाज गर्नका लागि समस्या हुने गरेको छ । वडा अध्यक्ष चौतारामा बसेर काम गर्न बाध्य भएका जनप्रतिनिधिको भनाइ छ ।

अमरगढी नगरपालिका उप प्रमुख संगिता भण्डारीले भने वडा कार्यालय स्थापनाका लागि निर्णय गरिसकेकाले तत्काल वडा कार्यालय स्थापना गर्नका लागि पहल शुरु भइसकेको बताए । परशुराम नगरपालिकामा रहेका दुर्गम वडामा कार्यालय स्थापना गरी कामकाज शुरु गर्नुपर्ने र जनताले घरदैलामा नै सेवा पाउनुपर्ने सर्वसाधारणहरुको भनाइ रहेको छ