☰ open Loading... 3 May 2024|  

घर फर्कदै बालश्रमिक
  | २६ आश्विन २०७४, बिहीबार १७:५८

दैलेख । कामको खोजीमा सहरबजारतिर बालश्रमिकको रुपमा रहेका बालकहरु अहिले धमाधम आफ्नो घरतिर फर्कन थालेका छन् । गरिवीकै कारण कमाई तथा सुन्दर सपना बोकेर गाँउबाट शहर बजारतिर हानिएका दैलेखका ती बालश्रमिकहरु अहिले आफ्नै गाँउमा फर्किएका हुन् । फर्कीएर आफ्नो पढाई पुरा गर्ने लगायतका योजना छ उनीहरुको ।

दशैंपछि मात्रै यहाँका ४ बालकहरु आफ्नो घर फर्किका । दैलेखका विभिन्न ठाँउमा अलपत्र अवस्थामा रहेका ती बालकहरुलाई घर फर्काइएको हो । संस्थाहरुबाट अलपत्र अवस्थामा रहेको जानकारी आएपछि अहिले ४ जना बालश्रमिकहरुलाई पुनः घरमै फकाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ऐकेन्द्र खड्काले बताए । ती बालकलाई सोसेकले अगुवाईमा रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा २ दिन राखिसकेपछि उनीहरुको परिवारलाई हस्तान्तरण गरिएको थियो ।

आफुहरुलाई घर दुःख र पैसा कमाउने रहर जागेर शहरतिर काम गर्न जाने आउने गरेको १० वर्षिया बालश्रमिक नौमुले गाँउपालिका –ं ७ पैतीका प्रकाश विकले बताए । उनी नेपाल राष्ट्रिय आधारभूत विद्यालय डाडागाउ पैतीमा कक्षा ५ मा अध्ययन थिए । ‘मिठो खाने, राम्रो लगाउने र मोबाइल किन्ने चाहनाले गर्दा पढाई छाडेर कामको खोजीमा हिडे हुँ ।’ उनले भने, अब अध्ययन सकेर २० वर्ष पुगेपछि मात्रै काममा फर्कने छु ।’

त्यसैगरी उक्त विद्यालयकै कक्षा ६ मा अध्ययन गर्ने वर्ष १३ का अर्जुन विक, वर्ष १४ का टेकबहादुर र दत्त विक पनि कामको खोजीमा सहर छिरेका थिए । टेकबहादुर विक पनि कामको खोजीमा नपुगेको विरलै ठाँउ छ । उनी धेरै शहर कामकै खोजीमा पुगे । उनी १ वर्ष अगाडी रसुवाको धुन्चेमा सडक मर्मतमा काम गर्थे ।

त्यसपछि उनी सुर्खेतमा ५ महिना काम गरेर दशै मान्न घर फर्केका हुन । मासिक ३ हजार कमाउने उनी बचेको पैसा घर खर्चका लागि जम्मा गरेको बताउँछन् । उनका बुबा मानसिक रोगी छन् । आमाले काम गर्न नसक्ने र अरु भाईवहिनीलाई पढाउनुपर्ने भएको हुदाँ आफु कामको खोजीमा लागेको टेकबहादुर विक बताउँछन् ।

विदाको समयमा कमाएर अध्ययन खर्च जुटाउने सोच बनाएका दत्त विक बुबाले रक्सि खाएर पैसा सिध्याउने भएकाले कापी, कलम र पेटभरी खानाको जोहो गर्न कामको खोजीमा हिडेको बताउँछन् । बालबालिकाको हेरचाह गर्ने जिम्मेवारी अभिभावकको भएकाले आफ्ना बालबालिकालाई राम्रो सँग स्याहार गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले बताए ।

घर फिर्ताभन्दा पनि घरमा स्थायी रुपमा बस्ने बातावरणको श्रृजना गर्न आवश्यक रहेको सामाजिक अभियान्ता बासना थापाले बताईन् । बालश्रम (निषेध र नियमित गर्ने) नियमावली, २०६२ ले १४ वर्ष उमेर नपुगेका बालकलाई श्रमिकको रुपमा काममा लगाउन नहुने व्यवस्था गरे पनि जानकारीको अभावका कारण बालश्रम भईरहेको बालसंरक्षण अधिकृत निर्मल अधिकारीले बताए । कसैले पनि बालकलाई ललाई, फकाई, वा डर, त्रास देखाएर उसको इच्छा विरुद्ध श्रमिकको रुपमा काममा लगाउन नपाइने अधिकारीको भनाई रहेको छ ।

होटेल तथा विभिन्न बालश्रममा लागेका दैलेख, सुर्खेत, जुम्ला, मुगु र अछाम लगायत जिल्लाका २ दर्जन भन्दा बढी बालकहरुको उद्धार गरि परिवारलाई हस्तान्तरण गरिएको महिला तथा बालबालिका आपतकालिन सेवा केन्द्र दैलेखका संयोजक रमा श्रेष्ठले बताईन् ।

‘अभिभावकले उनीहरुको कुरा नसुन्ने र भावना नबुझने भएकाले घर छाडेर हिड्ने बालबालिकाको संख्यामा बृद्धि भएको छ ।’ संयोजक श्रेष्ठले भनिन् ‘अर्काेतिर विद्यालयमा विद्यार्थी किन नियमित आउदैन भनेर खोजी गरिदैन् । जसले गर्दा उ कुलतमा लागी सकेको हुन्छ ।’