☰ open Loading... 5 May 2024|  

दरबन्दीका प्रहरी किन बस्दैनन् कर्णालीमा ?
  | २९ आश्विन २०७४, आईतवार १०:२४

सागर परियार 
जुम्ला । कर्णालीमा दरवन्दी भएर जिल्ला बाहिर काजमा गएका प्रहरी फर्किने गरेका छैनन् । कर्णालीको दरबन्दी तर सुगुममा बसेरै काम गर्ने र तलब खानेको संख्या बढ्दै गएकाले धेरै चुनौती थपिएको हो । कर्णालीका जुम्ला, मुगु, डोल्पा र कालिकोट जिल्लामा दरबन्दी भएका र सरुवा भई आउन नमानेका प्रहरी दुई सय तीनजना रहेका छन् ।

फायल तस्वीर ।

कालिकोटमा ७५ जना, जुम्लामा ६० जना, डोल्पामा ५० जना र मुगुमा १८ जना विभिन्न पदका प्रहरी काज अर्थात विभिन्न बहानाले अन्यत्र जिल्लामा रहेका छन् । धेरै जसो पहुँचको आधारमा सुगुममा बस्दै आएका जिल्ला प्रहरी कार्यालयहरुले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक डा. तपनकुमार दाहालले दरबन्दीका २० जना र अन्य सरुवा भएका तर ४० जना जुम्लामा नआएको बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयसहित विभिन्न १७ वटा प्रहरी युनिटमा सुरक्षा अभाव देखिएको छ । जिल्लामा तीन सय दरबन्दीमा ६० जना नआउनु बिडम्ना भएको र यसका लागि पटक पटक पत्राचार समेत गरिएको प्रहरी नायव उपरीक्षक डा. तपन कुमार दाहालले जानकारी दिए ।

यसैगरी कर्णालीमा महिला प्रहरीको दरबन्दी निकै न्यून रहेको छ । अहिले जिल्ला प्रहरी कार्यालय जुम्लामा ४ जना, कालिकोटमा ४ जना, मुगुमा २ जना, डोल्पामा महिला प्रहरी रहेका छन । हु्म्लामा भने २० जना महिला प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

महिला प्रहरी नहुँदा सुरक्षाको दृष्टिले सम्वेदनशील क्षेत्रहरुमा समस्या भइरहेको छ । विमानस्थल, कारागार, अदालत, महिला बालबालिका सेवा केन्द्र, जिल्ला प्रशासन लगायतका युनिटहरुमा अनिवार्य महिला हुने भए पनि महिला प्रहरी कम हुदा समस्या भईरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक दाहालले बताए ।