☰ open Loading... 13 January 2025|  

दैलेखमा अझै कम भएन छाउपडी प्रथा
  | ३१ आश्विन २०७४, मंगलवार १३:०७

केहि समय अगाडी दैलेखको चामुन्डा विन्द्रासैनि नगरपालिकामा एकजना किशोरीको छाउगोठमा सर्पले डसेर मृत्यु भयो । छाउपडी बारेकै कारण उहाको मृत्यु भयो । यो प्रथा जिल्लामै ठुलो समस्याको रुपमा रहेको पुष्टि उहाको मृत्युबाट हुन्छ ।

दैलेखका विशेष गरेर पश्चिमी क्षेत्रमा यो प्रथा समाजको धब्बाको रुपमा रहेको छ । यसलाई अन्त्य गर्न जिल्ला तहबाट यसअघि पनि विभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गरिय भने छाउगोठ भत्काउन दैलेखमा सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोगमा ३ करोड जत्ती रकम खर्च भएको थियो । तर अभियान अभियानमा मात्र सिमित भयो । त्यसको उपलब्धी खास्सै नभएको पाइएको छ ।

सबैभन्दा कम छाउपडी प्रथा हुने भनिएको दैलेखको गुराँस गाउँपालिका पनि यो प्रथाबाट अछुतो रहन सकेको छैन । जसका कारण यहाँका महिलाहरुलाई महिनावारी भएकै निहुमा छुट्टै सुताउने गरिन्छ । भने अशुद्ध हुने भन्दै मन्दिरमा जान नदिने, दहि, दुध खान नदिने गर्ने गरिएको छ ।

महिनावारी भएको बेला धेरै पौष्टिक कुराहरु खानुपर्ने डाक्टरहरुले बताएपनि यो समयमा त्यस्ता खानेकुराहरु नदिदा महिलाहरुको स्वास्थ्य कमजोर बन्ने गरेको छ ।

महिलाहरु पनि यसमा कमजोरी देखिन्छ । महिनावारी भएको बेला छाउगोठमा नबस्दा देउता रिसाउने भन्ने पुरानो मान्यताको पछाडी महिलाहरु हिड्ने गरेका छन् ।

दैलेख गुराँस गाउँपालिकामा शिक्षक मिनराज भट्टराईले छाउपडी प्रथा अन्त्य गर्न जनचेतनामुलक कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिए ।
यो दैलेख जिल्लाकै समस्याको रुपमा रहेको छ, उनले भने, ‘यसको न्युनिकरणका लागि हामी सबै एक भएर लाग्नुपर्छ’ महिलाहरु पनि सचेत हुनु पर्छ ।

महिलाहरु महिनावारी भएको बेला छाउगोठमा बस्नेमात्र नभई मन्दिर तथा अन्य सार्बजनिक स्थानमा समेत जान नदिनुे संस्कारका कारण उनिहरुलाई मानसिक असर पर्ने गरेको उनको धारणा छ । अहिले नेपाल संघियतामा प्रवेश गरिसकेको छ । संघिय संरचनाअनुसार स्थानिय सरकारहरु पनि गठन भइसकेका छन् ।

समाजमाका समस्याहरुलाई निराकरण गर्न स्थानिय सरकारहरुको ठुलो भुमिका रहन्छ भने स्थानिय सरकारको नेतृत्व गर्ने तहमा महिलाहरुको पनि सहभागिता रहेको छ । यस प्रथालाई अन्त्य गर्न नेतृत्वमा पुगेका महिलाहरुको भुमिका अझै धेरै रहन्छ ।  यसलाई न्युनिकरण गर्न गाउँपालिका स्तरबाट विभिन्न कार्यक्रमहरु संचालन गरिन लागिएको गाउँपालिकाका उपाध्यक्ष दीपा कुमारी विसीले बताईन ।

उनले गुराँस गाउँपालिकालाई जिल्लाकै पहिलो छाउपडी मुक्त गाउँपालिका निर्माण गर्न आफुहरु लागिपरेको बताईन ।
केहिदिन अघि यस गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले गुराँस गाउँपालिकालाई छाउपडी मुक्त बनाउने संयुक्त रुपमा प्रतिवद्धता जनाएका थिए ।