सुर्खेत । प्रदेश सभा र प्रतिनिधिसभाका लागि पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुको मनोनयन दर्ता आईतबार उत्साहपूर्ण रुपमा सम्पन्न भयो । ६ नम्बर प्रदेशका सुर्खेत, दैलेख र सल्याण बाहेकका जिल्लाहरुमा पनि उत्साहपूर्ण ढंगले मनोनयन दर्ता भयो ।
दुवै निर्वाचनका लागि मनोनयन दर्तासँगै यस प्रदेशमा मुख्यमन्त्रीको होला ? भन्ने सर्वत्र चासो बढेको छ । कांग्रेसले हुम्लाका जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेपछि वाम गठबन्धनबाट मुख्यमन्त्री को भन्ने विषयमा चर्चा सुरु भएको छ ।
वाम गठबन्धनबाट ६ नम्बर प्रदेशबाट मुख्यमन्त्रीका सम्भावित आकांक्षीहरु मध्ये माओवादीका शक्तीबहादुर बस्नेत र जनार्धन शर्माले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएपछि माओवादीबाट जुम्लाका नरेश भण्डारी र कालीकोटका महेन्द्र शाही चर्चामा छन् ।
जाजरकोटबाट प्रतिनिधिसभामा उम्मेद्वारी दिएका बस्नेत पूर्वगृहमन्त्री र शर्मा वर्तमान सरकारका गृहमन्त्रीबाट विनाविभागीय मन्त्री हुन् ।
माओवादीभित्र राजनितिक उचाई बनाईसकेका र ठूला मन्त्रालय सम्हालीसकेका कारण उनीहरुलाई मुख्य मन्त्रीका रुपमा आउने आशा गरिएको थियो । तर, दुवै नेताको केन्द्रीय राजनितिभन्दा बाहिर नजाने रुचि देखिएपछि उनीहरुले प्रतिनिधिसभामा आफ्नो उम्मेदवारी दिएका हुन् ।
जुम्लाबाट प्रदेशसभामा आफ्नो उम्मेदवारी दिएका भण्डारीको केही समय अगाडि मुख्य मन्त्रीको चर्चा थियो भने, कालीकोटका शाहीले आफू मुख्यमन्त्री हुने औपचारिक निर्णय नै भैसकेको भनेर खुलासा गरेका छन् । शाहीले आईतबार मनोनयन दर्तापछि सार्वजनिक रुपमै आफू ६ नम्बर प्रदेशको मुख्यमन्त्री हुने दावी गरेका छन् ।
माओवादीले जाजरकोटका नेता मायाप्रसाद शर्मालाई समानुपातिकमा राखेर मुख्यमन्त्रीको रुपमा अगाडि सार्ने चर्चा पनि चलेको छ । शर्माका बारेमा पनि औपचारिक छलफल भने अहिलेसम्म भैनसकेको माओवादी श्रोत बताउँछ ।
वाम एलायन्सबाटै सुर्खेतका यामलाल कंडेलको मुख्यमन्त्रीको चर्चापनि उत्तिकै चलेको छ । एमालेको स्थानीय पार्टी कमिटीले कंडेललाई प्रदेशसभाका लागि सिफारिस गरेपनि कंडेलले दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा वा प्रदेशसभा कुनमा मनोनयन दर्ता गर्छन भन्ने अहिलेसम्म खुलीसकेको छैन । यसबारेमा कंडलेले पार्टी कमिटीको सिफारिस र आफ्नो रुची अहिलेसम्म परिवर्तन नभएको बताए ।
मुख्यमन्त्रीका बारेमा अनुमान लगाउन र अनौपचारिक कुराकानी गर्न भए तर,६ नम्बर प्रदशमा वाम गठबन्धनबाट मुख्यमन्त्री को भन्ने विषयमा निर्णय गर्ने तहमा छलफल चलाउने समय भैइनसकेको कंडेल बताउँछन् । पूर्वमन्त्री कंडेल एमालेका पोलीटव्युरो सदस्य समेत हुन् ।
एमालेबाट केन्द्रीय राजनितिमा सक्रिय र प्रभाव राख्न सक्ने प्रकास ज्वाला प्रतिनिधिसभामा प्रत्यक्षमा लड्ने या समानुपातिकमा लड्ने अझै टुंगो लागिसकेको छैन । ज्वालाले प्रदेशसभामा भने लड्ने चाहाना देखिदैन । ज्वाला प्रतिनिधिसभामा उम्मेदवारी दिनेभएपछि एमालेमा कंडेल बाहेक अर्को दाबेदार नेता देखिदैन ।
माओवादीका वर्तमान मन्त्रीमण्डलका सामान्य प्रसाशनमन्त्रीबाट विनाविभागीय बनाइएका टेकबहादुर बस्नेतपनि प्रतिनिधिसभामा उठ्ने चर्चा चलेसँगै ६ नम्बर प्रदेशबाट वाम गठबन्धनको मुख्यमन्त्री को भन्ने विषय बढी चासोको विषय बनेको हो । यसबारे माओवादी र एमालेको शिर्ष नेताका बिचमा अनौपचारिक छलफल चलेपनि औपचारिक विषय प्रवेश नभैसकेको शिर्ष नेताहरु बताउँछन ।
६ नम्बर प्रदेशमा मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने माओवादीको दावी रहेको श्रोत बताउँछ । स्थानीय निर्वाचनलाई आधार मान्ने हो भने, माओवादी र एमालेको प्रभाव ६ नम्बरमा बराबर जस्तो छ । ७९ स्थानीय तहमध्ये एमालेले २७ र माओवादी केन्द्र र काग्रेसले २५ २५ तह जितेकाे खवर इनयाँपत्रिकामा छ ।