☰ open Loading... 18 May 2024|  

जाजरकोट र मुगुमा वाम गठबन्धन संकटमा
  | ६ कार्तिक २०७४, सोमबार १८:३६

नेपालगन्ज, अधिकांश जिल्लामा एमाले र माओवादी केन्द्रको वाम तालमेल अनुसारै उम्मेदवारी परे पनि मुगु र जाजरकोटमा असन्तुष्ट नेताहरुले मनोनयन गरेपछि सो गठबन्धन संकटमा परेको छ ।

मुगुमा एउटा पनि सिट नपाएपछि माओवादी केन्द्रको जिल्ला कमिटीले नै प्रतिनिधि तथा प्रदेश सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएको छ । त्यस्तै, गठबन्धन कार्यदलले अन्तिम समयमा हुम्ला र जाजरकोटका प्रदेश सभा सदस्य हेरफेर गरेपछि जाजरकोटमा एमाले र माओवादी दुवैले प्रदेशसभामा उम्मेदवारी दिएका छन् ।

कॉग्रेसले एक्लै र कालिकोट लगायतका जिल्लामा राप्रपासंग मिलेर उम्मेदवारी दिएको छ । जाजरकोटमा केन्द्रको निर्णय विपरित एमाले र माओवादी केन्द्रका उम्मेदवारहरुले छुट्टा छुट्टै मनोनयन दर्ता गराएका छन् ।

एमाले र माओवादी केन्द्र दुवैले प्रदेश सभा ‘क’ र ‘ख’ उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभाका दुवै क्षेत्रमा आ–आफ्ना दलको तर्फबाट उम्मेदवारी दर्ता गरेपछि बाम गठबन्धन संकटमा परेको छ ।

एमालेको तर्फबाट प्रदेशसभा ‘क’ मा निरज आचार्य र माओवादीको तर्फबाट गणेशप्रसाद सिंहले मनोनयन दर्ता गरेपछि गठबन्धन समस्यामा परेको हो ।

माओवादीका सिंहले निर्वाचन क्षेत्र बाँडफाँड कार्यदलको निर्णय अनुसार मनोनयन दर्ता गरेको बताएका छन् । हुम्ला र जाजरकोटमा आइतवार नै उम्मेदवारको फेरबदल भएको उल्लेख गर्दै उनले भने, ‘हुम्लामा माओवादीले छाडेपछि जाजरकोटमा उम्मेदवारी दिएको हो ।’

एमाले उम्मेदवार आचार्यले कार्यदलले ४ दिन अघि निर्णय गरेको भोलिपल्ट एमाले स्थायी समितिको निर्णय अनुसार आफूले उम्मेदवारी दर्ता गरेको बताए ।

‘एक्कासी निर्णय बदलिएको हल्ला आएको छ,’ उनले भने । उम्मेदवार फेरबदल बारे जाजरकोट एमालेलाई कुनै पनि जानकारी नआएको उनको दावी छ ।

त्यस्तै, एमाले नेता गोविन्दविक्रम शाहले पनि प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको सिफारिस नआएकोले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको शाहले बताएको खवर ईकान्तिपुरमा उल्लेख छ । एमालेले आफ्नो उम्मेदवारीलाई वैधता दिने शाहको भनाई छ ।