☰ open Loading... 19 April 2024|  

सुर्खेत जिल्ला क्रिकेट संघको अध्यक्षमा केसी
  | ७ कार्तिक २०७४, मंगलवार १९:०८

सुर्खेत । सुर्खेत जिल्ला क्रिकेट संघको नयाँ नेतृत्व चयन भएको छ । मंगलबार वीरेन्द्रनगरमा सम्पन्न साधारणसभाले श्रीधर केसीलाई अध्यक्षमा चयन गरेको हो । नेपाल क्रिकेट संघ (क्यान) को विधान परिवर्तन भएपछिको पहिलो साधारणसभाले केसीलाई अध्यक्षमा चयन गरेको हो । संघको उपाध्यक्षमा श्यामकुमार थापा, सचिवमा प्रकाश भूषाल, सहसचिवमा संदिप कोइराला र कोषाध्यक्षमा रुद्र भण्डारी चयन भएका छन् ।

संघको साधारणसभाको उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले क्रिकेटको विकासका लागि समितिले सक्दो सहयोग गर्ने बताए । उनले छ नम्वर प्रदेशको क्रिकेटको विकास र विस्तारको जिम्मा सुर्खेत जिल्ला क्रिकेट संघको काँधमा आएको भन्दै नयाँ नेतृत्वलाई जिम्मेवारी पूरा गर्नेतर्फ लाग्न आग्रह गरे ।

संघका निर्वतमान अध्यक्ष पदमबहादुर खड्काले सुर्खेतमा प्रदेश स्तरीय क्रिकेट मैदान आवश्यक रहेको बताए । उनले छ नम्वर प्रदेशका १० जिल्ला मध्ये सुर्खेतमा मात्रै जिल्ला क्रिकेट संघ रहेको भन्दै अन्य जिल्लाहरुमा क्रिकेट संघ गठन गर्ने जिम्मा पनि सुर्खेत क्रिकेट संघको काँधमा आएको बताए ।

कार्यक्रममा नेपाल भलिवल संघका केन्द्रीय सदस्य मंगल श्रेष्ठ, संघका सल्लाहकार नरेशसिंह थापा, मुकुन्दकुमार गिरी, मदनबहादुर खड्कालगायतले बोलेका थिए ।