☰ open Loading... 20 April 2024|  

चामल विक्री नहुँदा खाद्य संस्थान सुनसान
  | ८ कार्तिक २०७४, बुधबार ०९:२१

मुगु । चाडपर्वका बेला समेत स्थानीय बासिन्दा चामल लिन नआएपछि खाद्य संस्थानको गोदाम सुनसान हुने गरेको छ । केही वर्षअघिसम्म चाडपर्वमा स्थानीयको भीड लाग्ने गरेको भए पनि बजारमा गुणस्तरीय र सस्तो चामल बिक्री हुने गरेपछि गोदाम सुनसान हुने गरेको खवर कान्तपुर दैनिकमा छ ।

जिल्लाका लागि सडक मार्गबाट ढुवानी हुने करिब १३ हजार क्विन्टल चामल बेच्न संस्थानलाई मुस्किल पर्न थालेको छ । गोदाममा गत वर्षको चामलसमेत मौज्जात छ । संस्थानको दुईवटा गोदाममा अघिल्लो वर्षकै २ हजार ४ सय क्विन्टल चामल जगेडा छ । अनुदानको चामल कम खपत हुन थालेपछि संस्थानले चालु आवको खाद्यान्न ढुवानीमा बेवास्ता गरेको छ ।

कार्यालयका निमित्त प्रमुख कर्णबहादुर रावलले मुस्किलले दैनिक १० क्विन्टल मात्र चामल बिक्री हुने गरेको बताए । पाँच वर्षअघिसम्म प्रहरी परिचालन गरेरै राति ८ बजेसम्म चामल वितरण गरेको उनले सुनाए । व्यापारीको चामलभन्दा संस्थानको चामलको मूल्य प्रतिबोरा करिब २ सयले मात्र कम छ । मुगुमा ढुवानी भएको खाद्यान्न हुम्लामा बढी खपत हुने गरेको संस्थानले जनाएको छ ।

संस्थानको श्रीकोट, सोरुकोट, पुलु र कालै खाद्य डिपो भने चामल अभावले साउनदेखि सुनसान छन् । चामल ढुवानी नहुँदा डिपोको ढोकामा ताला लगाइएको छ । चामल किन्न आएका उपभोक्ता फर्किने गरेका छन् । ठेकेदारले लापरबाही गर्दा डिपोमा चामल पुग्न नसकेको स्थानीयको आरोप छ ।

पुलु डिपोमा चामल नहुँदा स्थानीय गमगढी आउने गरेका छन् । चालु आवको चामल ढुवानीको ठेक्का ढिलो स्वीकृत हुँदा डिपोमा चामल ढुवानी गर्न नसकिएको संस्थानले जनाएको छ ।
ml