☰ open Loading... 3 May 2024|  

देउसीभैलोबाट संकलित रकम विद्यालयलाई
  | ८ कार्तिक २०७४, बुधबार ०९:२२

अछाम । तिहारको अवसर पारी खेलिएको देउसी–भैलोबाट संकलित रकम विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि खर्च गरिने भएको छ ।

चौरपाटी गाउँपालिका–१, सिउडीमा देउसीभैलोबाट संकलित रु एक लाख २५ हजार रकम विद्यालयको शैक्षिक र भौतिक विकासमा खर्च गर्ने निर्णय भएको हो ।

स्थानीय देवीस्थान आधारभूत विद्यालय र परिवर्तनशील युवा क्लबले तिहारको समयमा देउसीभैलो खेलेर संकलन भएको रकमले विद्यालयलाई केही राहत हुने विद्यालयका प्रधानाध्यापक हर्कबहादुर साउदले बताए ।

विद्यालयको आर्थिक अवस्था कमजोर रहेको तथा भौतिक र शैक्षिक अवस्था पनि खस्किँदो भएकाले संकलित रकम विद्यालयलाई प्रदान गरिएको युवा क्लबका अध्यक्ष लालबहादुर साउदले बताए ।

परिवर्तनशील युवा क्लबका अध्यक्ष लालबहादुर साउद र विद्यालयका प्रअ हर्कबहादुर साउदको नेतृत्वमा खेलिएको देउसीभैलो कार्यक्रमबाट संकलित रकमका कारण विद्यालयलाई निकै राहत भएको र उक्त रकम सामाजिक काममा खर्च गरी शिक्षाको पहुँचबाट पछाडि परेका बालबालिकाको हितमा लगाउनु निकै सराहनीय कार्य भएको स्थानीय अजित विकले बताए ।

यस्तै, कमलबजार नगरपालिका–१० को जनज्योति युवा क्लबको देउसीभैलो कार्यक्रमबाट संकलित रु ६१ हजार ६०० पनि गाउँमा सामाजिक कार्यमा खर्च गरिने क्लबका सल्लाहकार सदस्य राम विष्टले जनाकारी दिए ।