☰ open Loading... 3 May 2024|  

जाजरकाेट र मुगुमा बाम गठबन्धनका बागीको उम्मेदवारी फिर्ता
  | ८ कार्तिक २०७४, बुधबार १६:२४

काठमाडौं । एमाले माओवादी लगायत बाम गठबन्धनका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका उम्मेदवारहरुले आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । जाजरकोट र मुगुमा गठबन्धनका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दर्ता गरेका एमाले र माओवादीका नेताहरुले आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

जाजरकोटमा माओवादी नेता तथा पूर्व गृहमन्त्री शक्ति बस्नेत विरुद्ध उम्मेदवारी दिएका एमाले नेता गोविन्दविक्रम शाहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । हुम्ला र जाजरकोटको सिट बाँडफाँडमा पहिल्यै स्पष्ट निर्णय हुन नसक्दा जाजरकोटमा एमाले–माओवादी दुवैको उम्मेदवारी परेको थियो ।

प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका शाहसँगै एमालेका तर्फबाट प्रदेशसभा क मा उम्मेदवार बन्नुभएका निरज आचार्य र ख मा एमालेकै करवीर शाहीले उम्मेदवारी दर्ता गरेका थिए । प्रदेश र प्रतिनिधिसभा दुवैमा एमाले नेताहरुले दिएको तीनवटै उम्मेदवारी फिर्ता हुने जानकारी उनीहरुले बुधवार बिहान पत्रकार सम्मेलन मार्फत गराएका थिए ।

यता, मुगुमा पनि वागी उम्मेदवारी दर्ता गराएका माओवादी केन्द्रका उम्मेदवारहरुले वाम गठबन्धनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । मुगुमा माओवादीका तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरेका नेता शुरबहादुर बुढा, प्रदेश ‘क’ बाट दर्ता गराएका केबलबहादुर शाही र प्रदेश ‘ख’ बाट उम्मेदवारी दर्ता गरेका मंगलबहादुर शाहीले फिर्ता लिएका हुन् ।

पार्टीले गठबन्धन विरुद्ध उम्मेदवारी दिनेलाई पाँच वर्षसम्मका लागि कार्वाही गर्ने चेतावनी दिएपछि पार्टीका सबै उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएको पोलिटव्यूरो सदस्य मगंलबहादुर शाहीले बताए ।

अब मुगुमा माओवादीले सूर्य चिन्हमा मतदान गर्ने छ । बाम गठबन्धनको सिट बाडफाडँमा मुगुमा माओवादीको सिट शून्य भएपछि गठबन्धन विरुद्ध प्रदेशसभा र प्रतिनिधिसभाको लागि माओवादी केन्द्रका नेताहरुले मनोनयन दर्ता गराएका थिए ।