जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति राजेन्द्रराज वाग्लेले विभिन्न आन्दोलनका नाममा कर्णाली प्रतिष्ठानलाई असफल बनाउन खोजिएको बताएका छन् ।
कहिले कर्मचारी, कहिले विद्यार्थीले प्रतिष्ठानका सेवा अवरुद्ध हुने गरी तालावन्दी गर्ने कार्य गर्दै आएको भन्दै उनले कर्णालीको स्वास्थ्य सम्पत्ति माथि खेलवाड हुन थालेको बताए । उनले आन्दोलनका नाममा तालाबन्दी र सेवा ठप्प गर्नु समग्र कर्णालीवासीको सपनामाथि कुठाराघात गर्नु सरह भएको प्रतिक्रिया दिएका छन् ।
उनले भने, ‘आन्दोलन भनेकै तालाबन्दी र सेवा ठप्प पार्नु होइन । वार्ता, संवाद गरेर समस्याको समाधान खोज्नु पनि उत्तम विकल्प हो । अहिले कर्णाली प्रतिष्ठानको कमजोरी देखाउँदै गरिने हरेक आन्दोलनले कर्णाली प्रतिष्ठान नै कमजोर बनाइरहेको छ ।’
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले अस्पताल प्रशासनमा ताला लगाएको भन्दै उनले दुःख व्यक्त गरे । उनले भने, ‘ताला लगाउनु समस्याको समाधान होइन। झन् समस्या निम्त्याउनु हो ।
गेका जिज्ञासालाई हाँकाहाँकी आएर सम्झाइबुझाई गर्दा कसैलाई समस्या हुँदैन। तर, तालाबन्दीले गर्दा सेवाग्राहीले दुःख पाउँछन् । यो कुरा आन्दोलन गर्नेहरुले बुझ्नु जरुरी छ ।’
उपकुलपति वाग्लेले ६ नम्बर प्रदेशकै स्वास्थ्य क्षेत्रको केन्द्र बन्न लागेकाले विभिन्न बहाना बनाएर प्रतिष्ठानलाई असफल सावित गर्ने षडयन्त्र भइरहेको आरोप लगाएका छन् । यसमा कर्णालीवासी स्वयं जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए ।
उपकुलपति वाग्लेले भने, ‘पछिल्लो समय कर्णाली स्वास्थ्य जनशक्ति उत्पादनका साथै स्वास्थ्य सेवाको केन्द्र बन्दै आएको छ । सामान्य बिरामी परेका बेला रेफर हुनुपर्ने कर्णालीबासीको अवस्थामा परिवर्तन आएको छ । जुम्लामा उत्पादित जनशक्ति कर्णालीभरि छरिएर स्वास्थ्य क्षेत्रमा काम गरिरहेका छन्। यस्तो संस्थालाई धराशायी बनाउन कतै षड्यन्त्र त भइरहेको होइन ?’
उनले प्रतिष्ठानमा कमीकमजोरी देखिए सुधार गर्दै लैजाने पनि बताएका छन् । उनले भने, ‘असन्तुष्टि हुन सक्छन्, तर त्यसलाई समाधान गर्न वार्ता र छलफलको बाटो रोज्नुपर्छ, त्यसका लागि प्रतिष्ठान सदैव खुला छ ।’ स्वास्थ्यखवर