☰ open Loading... 3 May 2024|  

पार्टी एकीकरणका लागि गठबन्धन– पूर्वमन्त्री बस्नेत
  | १० कार्तिक २०७४, शुक्रबार १०:२१

जाजरकोट । चुनाव जित्नकै लागि मात्र नभएर पार्टी एकतासहितको दिशामा जानका लागि वाम गठबन्धन भएको पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् ।

नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र) सम्बद्व संयुक्त वामपन्थी गठबन्धनले संयुक्तरुपमा निकालेको ¥यालीसहितको कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । आर्थिक समृद्धिसहितको योजनाका साथ देशलाई नयाँ दिशातिर लैजानका लागि वाम गठबन्धन भएको बस्नेतले दाबी गरे ।

देशमा कम्युनिस्टको बहुमत हुँदाहुँदै पनि अर्कैले हालीमुहाली गर्ने कार्य हुँदै आएकामा अब त्यो अन्त्य हुने उनले बताए । कार्यक्रममा प्रदेशसभा सदस्यका लागि जाजरकोट क्षेत्र १ का उम्मेदवार गणेशप्रसाद सिंहले कम्युनिस्ट एकता नहुञ्जेलसम्म देशमा विकास नहुने बताए ।

नलगाड सरोकार समितिका अध्यक्षसमेत रहनुभएका सिंहले अब जाजरकोट कम्युनिस्टको लालकिल्ला हुने दाबी गरे । त्यस्तै, प्रदेशसभा क्षेत्र नं २ का उम्मेदवार करवीर शाहीले वाम गठबन्धनले दुनियाँको टाउको दुखेको बताउँदै ‘फुटाउ र राज गर’ भन्ने रणनीति बोकेका केही तत्वले जति षड्यन्त्र गरे पनि सफल नहुने बताए ।