☰ open Loading... 24 February 2025|  

पानी अभावमा शौचालय प्रयोगविहीन
  | १२ कार्तिक २०७४, आईतवार ०९:२०

सल्यान । त्रिभुवन जनता मावि लक्ष्मीपुरमा गत वर्ष जिल्ला शिक्षा कार्यालयमार्फत छात्र र छात्राका छुट्टाछुट्टै शौचालय निर्माण भए तर पानी अभावमा विद्यालयका ती शौचालय प्रयोगविहीन छन् ।

 त्यस्तै लक्ष्मीपुर प्राथमिक विद्यालयको शौचालय पनि दुई वर्षदेखि प्रयोगविहीन छ । यी दुई मात्र होइनन् यहाँका अधिकांश विद्यालयमा बनेका शौचालय पानी अभावमा अलपत्र छन् । बालबालिकाहरू भने खुला शौच गर्न बाध्य छन ।

एक गाग्री पानी लिनका लागि एक घन्टा टाढा पुग्नुपर्ने बाध्यताले शौचालय अलपत्र भएको शिक्षक तिलक केसीले बताए । पानीकै अभावमा शौचालय प्रयोगविहीन भएको अन्धविनासिनी निम्न मावि निगालचुलाका शिक्षक शंकर प्रधानले बताए । ‘पानी प्रशस्त हुने ठाउँमा मात्र शौचालय प्रयोगमा छन्’, उनले भने, ‘कार्यालय सहयोगीले टाढाका कुवा र पँधेराबाट एक/दुई गाग्री पानी ल्याउँछन् । त्यो बालबालिकालाई पिउन समेत पुग्दैन त्यसैले शौचालयको बिजोग भएको हो ।’

कृष्ण मावि संग्रहीका प्रअ अशोक शाहले जिल्ला खुला दिसामुक्त भए पनि ग्रामीण क्षेत्रका विद्यालयमा निर्माण भएका शौचालय बन्द भएको बताएकाे खवर कान्तिपुर दैनिकमा छ ।

उनका अनुसार अधिकांश विद्यालयका शौचालय सरकारी अनुदानमै निर्माण भएका हुन् । विद्यालयभित्र खानेपानी जडान गर्न बारम्बार माग गर्दै आए पनि कसैले ध्यान नदिएकाले शौचालय प्रयोगविहीन भएको उनको भनाइ छ ।