☰ open Loading... 2 May 2024|  

राजमार्गको पुल नै अतिक्रमण
  | १२ कार्तिक २०७४, आईतवार ०९:२४

जाजरकाेट । छिन्चु–जाजरकोट सडकको छेडा(खलंगा खण्डको फेराबजारस्थित बुंगरे खोला पुल क्षेत्र स्थानीयले अतिक्रमण गरेका छन् । भेरी नगरपालिका १० का बासिन्दाले पुलको छेउछाउ अतिक्रमण गरेपछि सडक क्षेत्र साँघुरिएको छ ।

 

बुंगरे खोला आसपासका बासिन्दाले पुल क्षेत्रमा होटल(रेस्टुरेन्ट, किराना पसललगायत सञ्चालन गरेर अतिक्रमण गरेका हुन् । पुल अतिक्रमणबारे भेरी नगरपालिकालगायत निकाय भने बेखबरझैं देखिएका छन् । ‘सम्बन्धित निकायका प्रमुख तथा सरोकारवाला यो पुलबाट आवतजावत गर्छन् । तर अतिक्रमणकारीलाई हटाउनतर्फ कसैको ध्यान गएको छैन,’ स्थानीय तिलक रानाले भने ।

अतिक्रमणलाई नियन्त्रण नगर्दा समस्या बढदै जाने देखिएको छ । पुलको पश्चिमतर्फको एक चौथाइ भाग अतिक्रमणमा परिसकेको छ । उक्त पुलको दायाँबायाँ किनारको स्ल्याबमा ८ वटा होटल पसल सञ्चालनमा रहेको स्थानीय रानाले बताए । ६ करोडको लगानीमा गत वर्ष मात्र निर्माण सम्पन्न भएको पुलको स्ल्याबमै होटल पसल गर्ने प्रतिस्पर्धा चलेको उल्लेख गर्दै उनले भने, ‘जथाभावी घर टहरा बनाउँदा पनि कुनै निकायले चासो नदेखाएकाे खवर कान्तिपुर दैनिकमा छ ।

उक्त क्षेत्र बस, जिप, ट्रकलगायत यातायातका साधनको पार्किङस्थल समेत बनेको छ । अतिक्रमणका कारण राजमार्गमा यातायातका साधनलाई आवतजावत गर्न समेत कठिनाइ भइरहेको छ । पुल निर्माण सम्पन्न भएको एक महिना नबित्दै स्थानीय बासिन्दाले घर टहरा बनाएर अतिक्रमण गर्न थालेका थिए । बुंगरे खोला किनारको ऐलानीमा होटल व्यवसाय सञ्चालन गरेकाले पुल अतिक्रमणमा परेको हो ।

स्थानीयको अतिक्रमणबाट पुलको आयु ह्रास हुँदै गएको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर सूर्यबहादुर शाहीले बताए । भाँडा माझ्ने, कपडा धुने, पार्किङ गर्ने, आगो बाल्ने, फोहोरमैला फाल्ने लगायतले पुलको आयु दिगो नहुने शाहीले बताए । निर्माण भएको १ वर्ष बित्न नपाउँदै पुल जीर्ण बन्न लागेको उनले बताए । अतिक्रमणकारीलाई तत्काल हटाएर पुलको आयु लम्ब्याउनेतर्फ चासो दिनु जरुरी भएको शाहीले बताए । पुल अतिक्रमण तत्काल नियन्त्रण गरिने भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तीले बताए । अतिक्रमण हटाउन सम्बन्धित वडा अध्यक्ष लगायतलाई ताकेता गर्ने नगरप्रमुख घर्तीको भनाइ छ ।