पूर्णबहादुर खड्का
सुर्खेत । बराहताल– ६ निवासी लोकराज भण्डारी र पञ्चपुरी निवासी पदमकला रावतले भागी विवाह गरे । कक्षा सातमा पढ्दै गर्दा उनीहरुले प्रेमविवाह गरे । विहे गर्दा लोकराज १५ र पदमकला १४ वर्षका मात्र थिए । सात जुनीसम्म सँगै बाँच्ने कसम खाएको यो जोडी विवाहको चार वर्षसम्म पनि टिकेन ।
पढ्ने उमेरमा विवाह गरेको भन्दै परिवारले अस्वीकार गरेपछि सुरुमा यो जोडी आफन्तसँग नै अलग भएर बस्यो । विस्तारै आर्थिक समस्याले छाक टार्ने मुस्किल भएपछि लोकराज विदेश हानिए । लोकराज विदेशबाट नफर्कदै पदमकलाले दोस्रो विहे गरिन् । आफैले रोजेको श्रीमतीले दोस्रो विहे गरेपछि लोकराज अहिले एक्लो भएका छन् ।
दुई महिनाअघि मात्र स्वदेश फर्किएका लोकराज भन्छन्,‘उसकै लागि परिवारबाट छुटिएँ, पढाइ छोडेर विदेश गएँ । धन कमाएर घर बनाउने सपना थियो, तर उसले तीन वर्षको छोरा छोडेर अर्कैसँग विहे गरिछ ।’ हतारमा विहे गरेकै कारण आफ्नो परिवार छिन्नभिन्न भएको भन्दै उनले आफूसँग पछुतो बाहेक अर्को विकल्प नरहेको सुनाए ।
लेखवेशी नगरपालिका वडा नम्बर ४ दशरथपुर निवासी मीना पोख्रेलले कक्षा ८ मा पढ्दै गर्दा विहे गरिन् । १५ वर्षको कलिलो उमेरमा विवाह गरेकी उनी १६ वर्षको उमरेमा आमा बनिन् । घरव्यवहारमा पोख्त नहुँदा परिवारका सदस्यहरुले हेला गरे । पढ्ने उमेरमा विवाह गरेका कारण उनका श्रीमान् घरखर्च धान्न मुस्किल भएपछि रोजगारीका लागि विदेश गए ।
गाउँमा परिवारसँग मिलेर बस्ने अवस्था नभएपछि आठ महिनाको बच्चा बोकेर मीना माइतीको शरणमा गइन् । मीना भन्छिन्,‘हतारमा विहे गरिएछ, न पढ्न पाएँ न त मेरो प्रेम नै सफल भयो । माइतीमा बसेको भन्दै विदेशबाट फर्केर श्रीमान्ले दोस्रो विहे गरे, यो काखको बच्चासहित म अलपत्र परेकी छु ।’ सानैमा विहे गरेकै कारण आफ्नो जीवन नै बर्बाद भएको उनले दुखेसो पोखिन् ।
लोकराज र मीना प्रतिनिधि पात्र मात्र हुन् । उमेर नपुग्दै विवाह गरेका कारण जिल्लामा पछुताएका धेरै जोडी छन् । हतारमा विहे गरेका कारण अधिकांशको परिवार टुक्रिएका छन् । आफ्नो सल्लाह अनुसार विवाह नगर्दा कतिपय परिवारले अलग राखिदिने गरेका छन् । कतिपय जोडीहरु आफै परिवारबाट अलग भएर बस्दै आएका छन् ।
अर्कोतर्फ हतारमा विहे गर्ने र विस्तारै व्यवहारमा परिपक्व हुँदै गएपछि सम्वन्धविच्छेद गर्नेक्रम पनि एकाएक बढेको हो । जिल्ला अदालतको तथ्याकंले पनि बालविवाह गर्नेहरु नै सम्बन्धविच्छेदका लागि धेरै धाउने गरेको देखाएको छ । विहे अघि एक अर्कासँग छुट्टिएर बस्न नसक्नेहरु पनि विवाहपछि व्यवहारिक हुन नसक्दा दोस्रो विहे रोज्न थालेका छन् । बालविवाहकै कारण पछिल्लो समय जिल्लामा अधिकांश जोडी र परिवारहरु टुक्रिदै गएका छन् ।
पढ्ने रहर अधुरै
बालविवाहका कारण अधिकांशले पढ्ने रहर पूरा गर्न पाएका छैनन् । विद्यालयमा पढ्दापढ्दै विहे गरेका कारण घरव्यवहारमा व्यस्त हुनुपर्ने बाध्यताका कारण अधिकांशको पढाइ बिचमै छुट्ने गरेको हो । उमेर नपुग्दै विवाह गरेका किशोरीहरु आमा बन्ने र किशोरहरु रोजगारीका लागि विदेशीनुपर्ने बाध्यताले गर्दा उनीहरुको पढ्ने रहर अधुरै रहने गरेको हो ।
दशरथपुरमा रहेको जनक मावि गमखोलामा कक्षा सातमा पढ्दै गर्दा विहे गरेकी विष्णु लामिछानेको धेरै पढेर जागिर खाने रहर अधुरै रह्यो । १४ वर्षको कलिलो उमेरमा नै उनका अभिभावकले विवाह गरिदिए । आर्थिक अभावका कारण देखाउँदै परिवारले नै विवाह गर्न दबाब दिएपछि उनी बाध्य भइन् ।
अहिले तीन सन्तानकी आमा बनेकी विष्णु भन्छिन्,‘सानैमा विहे गरिदिए, पढ्ने उमेरमा घरको काममा व्यस्त भएँ । चाहेर पनि पढ्न पाइन, मेरो त पढ्ने रहर नै अधुरो भयो ।’ पढ्ने उमेरमा विहे गरेका कारण आफूसँगका धेरै साथीहरुले पनि बिचमै पढ्न छोडेको उनले सुनाइन् । जिल्लामा अधिकांशले विद्यालय उमेरमा विवाह गरेका कारण पढाइबाट बञ्चित भएका छन् ।
किशोरीको स्वास्थ्यमा असर
कलिलो उमेरमा विवाह गर्दा किशोरीहरुको स्वास्थ्यमा गम्भिर असर देखिएको छ । शारिरिक रुपमा परिपक्व नहुँदै धेरै सन्तान जन्माउँदा उनीहरु पीडित बन्न थालेका छन् । अधिकांश किशोरीमा पाठेघर खस्ने समस्या देखिएको छ । यस्तै सानै उमेरमा बुहारीको भूमिकामा परिवारको बोझ थेग्नुपर्ने बाध्यताका कारण पनि किशोरीहरु मानसिक रुपमा पीडित बन्ने गरेका हुन् ।
१६ वर्षको उमेरमा नै आमा बनेकी मीना भन्छिन्,‘सुत्केरी भएको बेलामा आराम गर्न पाइँन, बुहारी भएपछि डोकोमा मल बोक्नै प¥यो । कामले गर्दा रगत बग्ने र पेट दुख्ने समस्या देखियो, आराम भन्ने त कल्पना मात्र भयो ।’ उमेर नपुग्दै आमा बनेको र नियमित चेकजाँच नगराउँदा उनमा यस्तो समस्या देखिएको डाक्टरले बताएका छन् ।
तर मीना सबै पीडा सहेर बसेकी छन् । २२ वर्षको उमेरमै तीन सन्तानकी आमा बनेकी विष्णुको पीडा पनि उस्तै छ । ‘पहिलो सन्तान खेर गयो, गर्भवती अवस्थामा स्याहार नै पाइएन’ उनले भनिन्,‘अहिले पाठेघरमा समस्या देखिएको छ, रगत बग्न छोडेको छैन । उपचारमा धेरै रुपैयाँ सकियो, तर निको भएको छैन ।’ अहिले यति दुख भोग्नुको मुख्य कारण आफुले कलिलै उमेरमा विवाह गरेकाले भएको उनी बताउँछिन् ।
सुर्खेतमा ६० प्रतिशत बालविवाह
सुर्खेतमा उमेर नपुग्दै बिबाह गर्नेहरुको संख्या बढ्दै गएको छ । आधुनिक सञ्चारका साधनको पहुँच र अभिभावकलेसमेत वास्ता नगर्दा जिल्लामा पछिल्लो समय बालविवाह गर्नेक्रम बढेको हो । बालविवाहविरुद्ध अभियान सञ्चालन गर्दै आएका अभियन्ताहरुलेसमेत बालविवाह ठूलो चुनौतीको रुपमा देखा परेको बताएका छन् ।
बालविवाह न्यूनिकरण गर्न र यसलाई रोक्नका लागि विभिन्न चेतनामुलक अभियानहरु सञ्चालन भए पनि उमेर नपुग्दै बिबाह गर्नेहरुको संख्यामा कमी नआएको जिल्ला बाल कल्याण समितिले जनाएको छ । जिल्लामा हुने विवाहहरु मध्ये ६० प्रतिशत विवाह उमेर नपुग्दै अर्थात बालविवाह हुने गरेको समितिले जानकारी दिएको छ ।
बालविवाह गर्ने क्रम नरोकिएको भन्दै जिल्ला बाल अधिकार अधिकृत रमा भण्डारीले भनिन्,‘जिल्लामा अहिले ६० प्रतिशत भन्दा बढी बालविवाह हुने गरेका छन्, एक्लो प्रयासले मात्र यसलाई रोक्न कठिन छ ।’ फेसनको रुपमा मौलाउँदै गएको प्रेम र अभिभावकले रेखदेख नगर्दा बालविवाह बढ्दै गएको उनको भनाइ छ ।
हरायो बालविवाहविरुद्धको अभियान
पाँच वर्षसम्म बालविवाहविरुद्ध जिल्लामा ठूलै अभियान संचालन भयो । तामझाम गर्दै जिल्लाका एक दर्जन बढी तत्कालिन गाविसहरु बालविवाहमुक्त नै घोषणा भए । उमेर नपुग्दै बिवाह गर्ने कलिला जोडीहरु जग्गेबाटै खोसिए । जिल्लालाई नै बालविवाहमुक्त घोषणा गर्ने उदेश्यसहित सुरु भएको उक्त अभियान पछिल्ला चार वर्षदेखि अलपत्र छ । आर्थिक सहयोग गर्दै आएको दातृ निकाय सेभ द चिल्ड्रेनले हात झिकेपछि यो अभियान नै हराएको हो ।
जिल्लामा बालविवाहविरुद्ध अभियान संचालन गरेका संस्थाहरुमध्येको समाज जागरण केन्द्र (स्याक) नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्य भन्छन्,‘दाताको सहयोगमा हामीले अभियान चलाएका थियौं, आर्थिक कारणले नै अभियान सुस्ताएको हो । सेभ द चिल्ड्रेनले हात झिके पनि अभियान जारी नै छ, पहिलाको तुलनामा अभियानले गति नलिएको मात्र हो ।’
अभियान सफल बनाउन बजेट आवश्यक पर्ने भन्दै उनले थपे,‘अहिले बालविवाहमुक्त घोषणा गर्ने काम मात्र नभएको हो, हामीले किशोरी संवाद केन्द्रमार्फत बालविवाहविरुद्धको अभियान भने जारी राखेका छौं ।’
योजनाविहीन स्थानीय सरकार
जिल्लामा पहिलो पटक बालविवाहविरुद्धको अभियान तत्कालिन लेखफर्सा गाविसबाट थालिएको थियो । हालको लेखवेशी नगरपालीकामा पर्ने उक्त स्थान जिल्लामै पहिलो बालविवाहमुक्त गाउँ भएको थियो । तर अभियान हराएसँगै बालविवाह गर्नेक्रम पनि बढ्दै गएको छ । बालविवाहको दर बढ्दै गए पनि यसको न्यूनिकरणका लागि सरकारी निकायबाट कुनै पहल हुन सकेको छैन ।
हालै गठन भएका स्थानीय तहसँग पनि कुनै योजना देखिदैन । स्थानीय सरकारका रुपमा नगरपालिका र गाउँपालिकाले पनि आफ्नो बार्षिक नीति तथा कार्यक्रममा बालविवाह न्यूनिकरणका लागि ठोस योजना समावेश गर्न सकेनन् । यसले पनि बालविवाह रोक्न स्थानीय सरकार गम्भिर नभएको पुष्टी गरेको छ ।
लेखवेशी नगरपालिकाका मेयर गगनसिं सुनारले बालविवाह न्युनिकरणका लागि अहिले कुनै ठोस कार्यक्रम नभएको बताए । उनले भने,‘अहिले परिषद् सम्पन्न भइसक्यो, बजेट पनि विनियोजन भैसक्यो, हामीले लक्षितवर्ग अन्तर्गत बालबालिकाको रकम छुट्याका छौँ, तर बालविवाहविरुद्धको अभियान नै चलाउने योजना छैन ।’
जिल्लाका अन्य स्थानीय तहसँग पनि बालविवाह न्यूनिकरणका लागि ठोस योजना छैनन् । सरकारी तबरबाट योजना नहुँदा यस्ता सामाजिक अभियानहरु गैरसरकारी संस्थाको भरमा छन् । गैरसरकारी सस्थाहरु पनि दाताको भरमा कार्यक्रम संचालन गर्ने भएकाले अभियानहरुको दिगोपनामा समस्या उत्पन्न हुने गरेको छ ।
यता महिला तथा बालबालिका कार्यालय सुर्खेतमा पनि बालविवाह न्युनिकरणका लागि कुनै ठोस कार्यक्रम छैन । कार्यालयका बाल संरक्षण अधिकृत प्रेमप्रसाद आचार्यले भने,‘विभिन्न संघ संस्थासँग मिलेर जनचेतनामुलक कार्यक्रम गर्दै आएका छौं, हाम्रो आफ्नो छुट्टै अभियान छैन ।’
(क्रियाशील पत्रकार मञ्च नेपालका लागि)