☰ open Loading... 3 May 2024|  

कर्मचारी अभावले विकासे काम प्रभावित
  | १४ कार्तिक २०७४, मंगलवार ०९:१३

डाेल्पा । स्थानीय तह र मातहतका वडामा कर्मचारी नहुँदा विकासका काम प्रभावित भएका छन् । सरकारले स्थानीय तहहरूमा आवश्यकताअनुसार कर्मचारी व्यवस्था गर्न नसक्दा समस्या भएको जनप्रतिनिधिको गुनासो छ ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको स्थानीय तह कर्मचारी व्यवस्थापन समितिले जिल्लाका विषयगत कार्यालयका कर्मचारीलाई स्थानीय तहमा पठाए पनि अधिकांश अझै हाजिर भएका छैनन् ।

कतिपय भौगोलिक विकटता देखाउँदै पुरानै कार्यालयमा फर्किएको छार्का ताङसोङ् गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले बताए । पर्याप्त कर्मचारी नहुँदा शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारका काममा समस्या आएको उनको भनाइ छ ।

स्थानीय तहमा कार्यकारी प्रमुख र लेखाका कर्मचारीमात्र छन् । कर्मचारी नभएकै कारण साविकका गाविस सचिवले संयुक्त वडा कार्यालय चलाएर सेवा दिइरहेका छन् ।

वडामा तीन जनासम्म कर्मचारी खटाए पनि कामकाजमा निकै सुविधा हुने ठूलीभेरी नगरपालिका ८ का अध्यक्ष हरिप्रसाद डाँगीले बताए । उनका अनुसार सबै वडामा कर्मचारी अभावले काम गर्न समस्या छ ।

डोल्पामा ८ स्थानीय तह छन् । तिनीहरूमा ६५ वडा छ । साविकका २३ गाविसका सचिवहरूले हाल संयुक्त वडा कार्यालय स्थापना गरेर सेवा दिइरहेका छन् ।

केही स्थानमा विषयगत कार्यालयबाट काजमा कर्मचारी खटाइएको तर नपुग भएकाहरू तत्काल व्यवस्थाका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा माग गरिएको सहायक प्रजिअ बमबहादुर केसीले बताए । उनले यसबारे सम्बन्धित विषयगत तथा अन्य कार्यालयसँग समन्वय गरी तत्काल कर्मचारी व्यवस्थापनको काम हुने जनाए ।