☰ open Loading... 3 May 2024|  

‘सुर्खेतका सबै सिट बाम गठबन्धनले नै जित्छ’
  | १४ कार्तिक २०७४, मंगलवार १७:४१

सुर्खेत । वाम गठबन्धन भएको एक महिनापछि सुर्खेतमा एमाले र माओवादीले संयुक्त सभा गरेका छन् । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनको लागि कार्तिक १६ गते हुने मनोनय दर्ता र चुनावी प्रचारप्रसारका लागि दुवै पार्टीले पहिलो पटक भेलाको आयोजना गरेका हुन् ।

वीरेन्द्रनगरको घण्टाघरमा आयोजित जिल्ला स्तरिय संयुक्त कार्याकता भेलामा केन्द्रीय र जिल्ला स्तरको नेताहरुले सुर्खेतमा कांग्रेसलाई पत्तासाप गर्ने गरी लाग्ने प्रतिवद्धता समेत जनाएका छन् ।

नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य नरबहादुर विष्टले दुई पार्टी एकता हुने भएपछि सुर्खेतका सबै सिट गठवन्धनले नै जित्ने ठोकुवा गरे । हिजो छुट्टाछुट्टै टिकटका लागि उम्मेदवारी सिफारिस गरेको भन्दै वाम गठबन्धन भएपछि मनमा तिक्तता नराख्न कार्यकर्तालाई आग्रह गरे ।

नेकपा एमालेका पोलिटव्यूरो सदस्य यामलाल कंडेलले दुई पार्टी नै सत्ता चलाउने सामथ्र्य भएको अवस्थामा देशको हितका लागि एक कित्तामा उभिएको बताए । नेकपा एमाले ६ नम्बर प्रदेश कमिटीका सह–संयोजक समेत रहका कंडेलले दुवै पार्टीमा नेताको कमी नभएको बेला घात अन्तरघातभन्दा वाम गठबन्धनलाई जिताउन सक्रिय भएर लाग्न निर्देशन दिए ।

संयुक्त भेलामा नेकपा एमाले र माओवादी केन्द्रका जिल्ला तथा केन्द्रिय नेताहरुले सम्बोधन गरेका थिए । प्रतिनीधि सभाका लागि २ र प्रदेश सभाका लागि ४ निर्वाचन क्षेत्र रहेको सुर्खेतमा स्थानीय तहको मत परिणाम अनुसार लोकतान्त्रिक गठबन्धनभन्दा बाम गठबन्धन १५ हजार ७८९ मतले अघि छ । वाम गठबन्धनको ७१ हजार ७७० मत र लोकतान्त्रिक गठबन्धनको ५५ हजार ९८१ मत छ ।