☰ open Loading... 1 May 2024|  

‘राज्यबाट प्रेस स्वतन्त्रता हुनुपर्छ’
  | १४ कार्तिक २०७४, मंगलवार १९:५१

सुर्खेत । पत्रकार विरुद्ध हुने दण्डहिनता अन्त्यका लागि प्रतिवद्ध रहेको सरोकारवालाहरुले बताएका छन् । फ्रिडम फोरम नेपालले पत्रकार विरुद्ध हुने अपराध सम्बन्धि दण्डहिनता अन्त्य सम्बन्धि अन्तरािष्ट्रय दिवसको अवसरमा मंगलवार वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।


कार्यक्रममा मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुँरागाईले पत्रकार विरुद्ध हुने दण्डहिनता अन्त्य गर्नको लागि प्रतिवद्धता व्यक्त गरे । ‘विभिन्न समयमा हुने पत्रकारमाथि हुने घटनाहरु दुःखद छन्’ उनले भने, ‘प्रेस स्वतन्त्रताका घटना हुन नदिन मातहतका कार्यालयहरुलाई पनि निर्देश गर्नेछु ।’ दण्डहिनता अन्त्यका लागि पत्रकार र राज्य दुवैले पक्ष सुधार हुनुपर्ने उनको भनाई थियो । ‘राज्यबाट पनि पूर्ण रुपमा प्रेस स्वतन्त्रताको व्यवस्था हुनुपर्छ’ उनले भने, ‘पत्रकारले पनि परिपक्क रुपमा सूचना प्रदान गर्नुपर्दछ ।’

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले दण्डहिनता अन्त्यका लागि एकबद्ध भएर अघि बढ्नुपर्ने बताए । जोखिमको रुपरुप नै दण्डहिनता भएको भन्दै सेजुवालले यसको अन्त्यको लागि सबै निकाय प्रतिवद्ध रहनुपर्ने बताए । ‘नेपाली पत्रकारीताले पनि आफ्नो धर्म निर्वाह गर्नुपर्ने हुन्छ’ सेजुवालले भने, ‘राज्यले पनि यसमा ध्यान दिनुपर्छ ।’

वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमालले पत्रकारविरुद्ध हुने दण्डहिनता अन्त्यको लागि राज्यको भुमिका महत्वपूर्ण हुने उल्लेख गरे । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पत्रकारिता विषयका प्रध्यापक भानुभक्त अधिकारीले दण्डहिनता विषय संवेदनशिल भएको भन्दै सबै पक्षहरु नै यसमा सचेत हुन जरुरी रहेको औल्याए । पत्रकारहरुमा पनि भएका कमी कम्जोरीहरु सुधार गर्दै लैजानुको साथै यस्ता खालका घटना हुन नदिन राज्यले पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

विश्वविद्यालयका उप–प्रधायापक एंव द्घन्द्घ विज्ञ कमलराज लम्सालले राज्यले दण्डहिनता अन्त्यको लागि सबै पक्षमा भएका कमि कम्जोरी सुधार गर्दै अघि बढ्नुपर्ने औल्याए । अधिवक्ता दुर्गा सापकोटाले राजनीतिक संरक्षणमा दण्डहिनता मौलाएको बताए । नेकपा एमालेका जिल्ला उपाध्यक्ष अमृत विसीले पत्रकारमाथि हुने दण्डहिनता अन्त्यको लागि पार्टीको सहयोग रहने बताए ।

‘पत्रकारले पनि सत्य र निस्पक्ष सूचना संप्रेसित गर्नुपर्छ’ उनले भने, ‘दलहरुले पनि यस्ता सूचनाहरुको संरक्षण गरिनुपर्छ ।’ नेकपा माओवादी केन्द्रका हरिमाया शर्माले पत्रकार समाजको ऐना भएको भन्दै उनीहरुको संरक्षणको लागि दलहरुको महत्वपूर्ण भूमिका औल्याइन् ।

कार्यक्रममा विभिन्न मानव अधिकारकर्मी, सुरक्षा निकायका प्रतिनिधि तथा प्रदेशका विभिन्न जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण फ्रिडम फोरम प्रदेश नम्वर ६ का प्रतिनिधि लक्ष्मी भण्डारीले गरेकी थिइन् ।