☰ open Loading... 2 May 2024|  

जुम्लाबाट प्रत्यक्षमा महिला उम्मेदवारी शून्य
  | १५ कार्तिक २०७४, बुधबार १८:२०

सागर परियार
जुम्ला । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ जुम्लाबाट कुनै पनि महिला उम्मेदवारको मनोनयन परेको छैन । जिल्लामा ६ दलका १४ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाका लागि वाम गठबन्धनले माओवादी केन्द्रका पोलिटब्युरो सदस्य गजेन्द्रबहादुर महतले उम्मेदवारी दिएका छन् । कांग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनले कांग्रेसका देवेन्द्र शाहीले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभाकै लागि नेपाल मजदुर किसान पार्टीका पुर्व सांसद डिल्लीप्रसाद काफ्लेको उम्मेदवारी दर्ता भएको छ । नयाँ शक्तिबाट तोयानाथ योगीको उम्मेदवारी दर्ता भएपनि उनले कांग्रेससँग गठवन्धन गरेको आफुलाई चित्त नबुझेको भन्दै पार्टीबाटै राजीनामा दिएका छन् ।

जिल्लामा प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुईवटा निर्वाचन क्षेत्र छन् । यसअघि गत स्थानीय तहको चुनावमा पनि जुम्लामा नगरपालिका बाहेक महिलालाई उपप्रमुखमा मात्र उम्मेदवार बनाइएको थियो । प्रमुख र उपप्रमुखमध्ये एकजना महिला उम्मेदवार हुनुपर्ने बाध्यात्मक कानुनी व्यवस्था छ ।

प्रदेशका लागि क्षेत्र नम्बर १ बाट वाम गठबन्धनले माओवादी केन्द्रका पुर्व सांसद नरेश भण्डारीलाई उम्मेदवार बनाएको छ । लोकतान्त्रिक गठबन्धनले नेपाली कांग्रेसका राजुसिंह कठायतलाई उम्मेदवार बनाएको छ ।

प्रदेश क्षेत्र नम्बर १ बाटै नेमकिपाबाट पार्टी अध्यक्ष शिवलाल डाँगीको उम्मेदवारी दर्ता गरिएको छ । नयाँ शक्ति पार्टीबाट राधाकृष्ण बुढ्थापा, राप्रपाबाट देविकृष्ण न्यौपाने र मुस्कान नेपालबाट हरिहर चौलागाईको उम्मेदवारी दर्ता भएको छ ।

प्रदेशको क्षेत्र नम्बर २ बाट वाम गठबन्धनबाट एमालेका पदम रोकाय र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका भिमनिधि हमाल प्रतिस्पर्धामा छन् । नेपाल मदजुर किसान पार्टीबाट गोर्ख बुढाको उम्मेदवारी दर्ता भएको छ ।

कांग्रेसका पार्टी सभापति दिपबहादुर शाहीले प्रतिनिधि र प्रदेशसभाको उम्मेदवारीका लागि महिला नेतृबाट प्रस्ताव नआएका कारण कांग्रेसको तर्फबाट प्रत्यक्षमा महिलाको उम्मेदवारी नपरेको बताए । महिलाहरुले समानुपातिकतर्फ बढी चासो देखाएका छन् उनले भने ‘समानुपातिक तर्फ महिला उम्मेदवारीको सिफारिस गरी पठाएका छौँ । ’

नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य लक्ष्मीकन्या बुढाले भनिन् आफुले पनि प्रदेशसभाका लागि जुम्लाको निर्वाचन क्षेत्र नं. (ख) सिजा क्षेत्रबाट उम्मेदवारीको दावी गर्दै आएपनि पार्टीले पत्याएन । शीर्ष नेताहरुले विश्वास गरेनन् ।

संविधानमा ३३ प्रतिशत महिला सहभागीताको कुरा उल्लेख भएपनि संविधानलाई कुल्चिदै हिड्ने नेताहरुका व्यवहारले गर्दा हामी महिलाहरु निर्णायक तहमा पुग्न सक्दैनौँ । उनले भनिन् महिला नेतृत्व अगाडि बढाउनु पर्छ भन्ने हिसावले मैले दावी गर्दै आएको सिजा क्षेत्रबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै आएर नवप्रवेशी कार्यकर्ता पुर्णप्रसाद धिताललाई उम्मेदवारीको टिकट थमाएर गएपनि वाम गठबन्धनले त्यो क्षेत्रको भाग एमालेलाई प¥यो ।

नेपाल मजदुर किसान पार्टीका प्रत्यक्ष प्रदेशसभाका उम्मेदवार तथा पार्टी अध्यक्ष शिवलाल डाँगीले आफ्नो पार्टीबाट समानुपातिकमा महिलाको उम्मेदवारी कोटा छुट्याएको बताए ।

उनले प्रतिनिधिसभाका लागि महिला संघका जिल्ला अध्यक्ष राज्यलक्ष्मी न्यौपाने र जिल्ला कमिटि सदस्य लक्ष्मी कठायतको प्रदेश सभा समानुपातिकमा सिफारिस गरिएको बताए । नयाँशक्ति पार्टी जिल्ला इन्र्चाज धिरज महतले प्रदेशसभा (ख) बाट सह संयोजक दर्शना शाहीको उम्मेदवारी दिने तयारी भएपनि मनोनयन दर्ताको समयमा उपस्थिति हुन नसक्दा मनोनयन दर्ता नभएको बताए ।