☰ open Loading... 19 April 2024|  

अखिल क्रान्तिकारी सुर्खेतले बुझायो ज्ञापन पत्र
  | २३ कार्तिक २०७४, बिहीबार १५:४४

सुर्खेत । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) सुर्खेतले विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । गत असोजमा सम्पन्न अखिल क्रान्तिकारीको केन्द्रीय बैठकले गरेको निणर्य अनुसार बिहिवार जिल्ला शिक्षा कार्यालय सुर्खेतलाई ज्ञापनपत्र बुझाएको हो ।

संविधान अनुसार आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने हक हुनेछ भन्ने व्यवस्थालाई यथासिघ्र कानुन बनाई कार्यान्वयन गर्नुपर्ने, मातृभाषामा शिक्षा पाउने हक हुनेछ र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ, भन्ने व्यवस्थालाई कार्यान्वयन गर्न निश्चित स्थान, स्थानीय तह तथा प्रदेशका नागरिकलाई मातृभाषामा पठनपाठनको व्यवस्था गर्नु पर्ने माग क्रान्तिकारी छ ।

यस्तै, संगठन र शिक्षा विभाग बीच भएको सहमति अनुसार २० प्रतिशत छात्रवृत्ति ग्यारेन्टी गरिनुपर्ने, सार्वजनिक शिक्षाको स्तरोन्नतीको लागि सार्वजनिक विद्यालयहरुमा प्रयाप्त बजेटको व्यवस्था गरी अनुगमन र नियमनको प्रक्रियालाई व्यवस्थित गर्नु पर्ने मागसहित ज्ञापन पत्र बुझाएको अनेरास्ववियु (क्रान्तिकारी) सुर्खेत अध्यक्ष तथा केन्द्रीय सदस्य महेश जिसीले जानकारी दिए ।

उनका अनुसार शिक्षामा भइरहेको निजीकरण र माफियाकरणलाई नियन्त्रण गर्न संस्थागत विद्यालय सञ्चालन निर्देशिका कार्यान्वयन गर्नुका साथै अनुगमन र नियमनको प्रक्रियालाई व्यवस्थित गर्नुपर्ने, संगठनसँग विगतमा भएका सहमतिहरुलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने, बाढीबाट क्षतिग्रस्त भएका शिक्षण संस्थाहरुको अवस्था बुझि पुनर्निर्माण गर्नुपर्ने भएमा प्रक्रिया तत्काल अगाडि बढाउनु पर्ने र निजि शैक्षिक संस्थाहरुमा शुल्क वृद्धिको सम्बन्धमा अनुगमन गरी उचित व्यवस्थापन गरिनुपर्ने माग अघि रहेका छन् ।