☰ open Loading... 19 May 2024|  

मप क्षेत्रीय अस्पताल : तीन वर्षमा यी हुन उपलव्धीमुलक ३१ काम
  | २५ कार्तिक २०७४, शनिबार १७:४६

सुर्खेत । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल व्यवस्थापन समितिले आफ्नो कार्यकालभर विभीन्न ३१ वटा गणना गर्न लायक कार्य गरेको छ । व्यवस्थापन समितिले भौतिकतर्फ १७ वटा, जनशक्ति व्यवस्थापनतर्फ तीन, मेसिनरी औजार तथा उपकरण विस्तारतर्फ तीन, वातावरणतर्फ चार, आर्थिक पक्षतर्फ दुई र अन्य विषयमा दुईवटा विषयमा सुधार गरेको छ ।

वि.सं. २०७१ साल कात्तिक २६ गते तत्कालिन सरकारका स्वास्थ्यमन्त्री खगराज अधिकारीले मनोनयन गरेको व्यवस्थापन समितिको कार्यकाल भोली सकिँदैछ । आफ्नो कार्यकाल सकिँदै गर्दा व्यवस्थापन समितिले आफ्ना प्रगति सार्वजनिक गरेको छ ।

सार्वजनिक भएको प्रगति विवरण अनुसार पानीको अभावलाई पुरा गर्न डिप बोरिङ्ग जडान, ४० वेडको प्रसुति गृह, आइसियु तथा एनआइसियु गृह, प्रतिक्षालय र गार्ड भवन निर्माण भएको छ ।

यस्तै एसविए हल भवनमा थप तला निर्माण र सुधार, नयाँ भवनमा जाने बाटो पक्की, फिस्टुला विल्डिङ्गको सहमति दिएअनुसार भवन निर्माण, तीन सय ५० बेडको नयाँ भवन र तला थप्ने काम करिव ६० प्रतिशत काम सम्पन्न भएको समितिले जनाएको छ ।

समितिकाअनुसार पुरानो भवनको बराण्डा पक्की, पुरानो भवनको हाताभित्र पक्की बाटो निर्माण, पुनारो भवनमा टायल लगाइ सुधार, चिकित्सा भान्सा घर निर्माण, कर्मचारी आवाश गृह निर्माण, कर्मचारी आवाश गृह निर्माण, वासिङ मेसिन जडान, नयाँ एम्वुलेन्स प्राप्ती र क्यू सिस्टमको मेसिन जडान भएको छ ।

जनशक्ति थपतर्फ दक्ष चिकित्सक, चिकित्सक, नर्स, पारामेडिक, सुरक्षा गार्ड, ड्राइभर, माली तथा कार्यालय सहयोगीहरु थप, रेडियोलोजिष्ट, एनेष्थे सियोलोजिष्टजस्ता पदहरुको व्यवस्थाजस्ता काम गरिएको छ ।

मेसिनरी औजार तथा उपकरणतर्फ स्वर्गिय नन्दबहादुर कार्कीकी श्रीमति विष्णु कार्की र उहाँका परिवारबाट ४५ लाख सहयोगमार्फत् आइयुसी सेवा सञ्चालन भएको, लाइलोसिस मेसिन आइसियु र एनआइसियु तथा आकस्मिक कक्षमा अत्याधुनिक मेसिन जडान भएको र एक करोडभन्दा बढी रकमको लागनमा अक्सिजन प्लान्ट निर्माण भएको समितिले जनाएको छ ।

आफैले अक्सिजन उत्पादन गर्ने भएपछि अव क्षेत्रीय अस्पतालले बाहिरी अस्पतालहरुलाई मंसिर एक गतेदेखि अक्सिजन विक्रीसमेत गर्न सक्ने भएको छ ।

वातावरणिय सुधारतर्फ वगैचा निर्माण, वृक्षारोपण, प्रतिक्षालयमा टेलिभिजन जडान र स्टाफ पाकिङ्गको व्यवस्था गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्वर खड्काले जानकारी दिए ।

यो समिति मनोनित हुनुभन्दा पहिला अस्पतालको खातामा करिव एक करोड ५० लाखमात्रै रहेकोमा भौतिक सुधार तथा अन्य मेसिनरी औजारमा खर्च गरेर पनि करिव ६ करोड रुपैयाँ वचत भएको छ भने लेखा प्रणालीलाई डिजिटल बनाइएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष खम्वराज थानीले जिम्मेवारी लिएको केही दिनमै पत्रकारहरुसँग गरेका सवै बाचा पुरा भएका प्रगति विवरणले देखाएको छ ।

अध्यक्ष थानीले आफूले गरेका बाचा पुरा हुनुमा केन्द्रियस्तरबाट केपी ओली नेतृत्वको सरकार र त्यसपछिका केही मन्त्रीहरुले साथ दिएको बताए । यस्तै पूर्वमन्त्री तथा एमाले नेता यामलाल कँडेल र अन्य पार्टीका केही नेताहरुलेसमेत अस्पताल विकासका लागि व्यापक पहल गरेका समितिका सदस्य पूर्ण प्रसाद पौड्यालले बताए ।