☰ open Loading... 26 April 2024|  

‘प्रत्यक्षमा दावी गर्यौ, समानुपातिकमा थन्क्याइयो’
  | २८ कार्तिक २०७४, मंगलवार १९:२८

लक्ष्मी भण्डारी
सुर्खेत । जिल्लादेखि केन्द्रीय स्तरसम्म राजनीतिमा सक्रिय सहभागिता रहेकी नेकपा माओवादी केन्द्रकी सीता नेपालीको प्रत्यक्षतर्फ चुनाव लड्ने चाहना थियो । सोही चाहना अनुरुप उनले प्रत्यक्षबाटै प्रदेशसभाको चुनाव लड्नको लागि दावी पनि गरिन् । तर अन्ततः उनलाई समानुपातिकमा लगेर थन्क्याइयो । कारण थियो वामगठबन्धनका कारण सिटको भागवण्डा नमिल्नु ।

‘प्रत्यक्षबाटै चुनावमा लड्ने क्षमता भएपनि गठबन्धनको कारण भागवण्डा नपुगेका कारण समानुपातिकमा पार्टीले उठाएको छ’ नेपालीले भनिन्, ‘भागवण्डा परेका सिटमा पनि महिलालाई दिइएन ।’ २०४६ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेकी नेपाली पार्टीमा जिल्ला सदस्य, एरिया सेक्रेटरी, महिला संगठनकोा विभिन्न संगठनमा आवद्ध रहनुको साथै दलको सचेतक र पोलिटब्यूरो सदस्य समेत भएर सक्रिय रुपमा काम गरेकी छन् । त्यसैगरी २०७० सालको दोस्रो संविधानसभामा समानुपातिकतर्फ उम्मेदवार भएकी थिइन् ।

नेकपा एमालेकी पद्मा खड्का पनि पार्टीको समानुपातिकतर्फ पार्टीले उठाएको छ । ‘प्रत्यक्षमा लड्ने चाहना थियो तर, समानुपातिकमा उठाए’ उनी भन्छिन्, ‘अझै पनि पुरुष नेतृत्वले हामीमाथि विश्वास गर्दैन ।’

२५ वर्षदेखि विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेकी उनी विभिन्न कमिटीमा आवद्ध हुनुको साथै जिल्ला कमिटीको साथै अखिल नेपाल महिला संघमा पनि नेतृत्व सम्हालेकी छन् । जिल्लामा आफु भन्दा अगाडीका केन्द्रीय स्तरका नेतृत्व सम्हालेका पुरुषहरु भएको कारण पनि महिलाहरु प्रत्यक्षतर्फ जाने आँट नभएको बताउँछिन् ।

एकातिर महिलामा आँट नहुनु र अर्काेतर्फ पुरुष नेतृत्वले पनि विश्वास नगरेका कारण पनि सुर्खेतमा प्रत्यक्षतर्फ महिला उम्मेदवार आउन नसकेको देखिन्छ । त्यसैगरी समानुपातिकमा सहजै सिट सुरक्षित देखेर पनि कतिपय महिला उम्मेदवारहरु यसतर्फ आर्कर्षित देखिन्छन् ।

आफुभन्दा अग्रज पुरुष नेतृत्व भएका कारण प्रत्यक्षमा भन्दा समानुपातिकतर्फ नै आफ्नो चाहना भएको नेपाली काँग्रेसबाट समानुपातिकतर्फ उम्मेदवार बनेकी पार्वती धौलाकोटी बताउँछिन् । ‘प्रत्यक्षतर्फ उठ्नलाई पार्टीमा ठूलो योगदान दिनुपर्छ र केन्द्रसम्मको पहुँच हुनुपर्छ’ उनी भन्छिन्, ‘पार्टीले तपाईहरु समानुपातिकमा उठ्नुहोस् र प्रत्यक्षतर्फ अरु नेतृत्वहरु हुनुहुन्छ भनेपछि हामीले पनि स्वीकार ग¥यौ ।’

सुर्खेतमा प्रदेश र प्रतिनीधिसभाका ६ सिटका लागि ५९जनाको मनोनयन दर्ता भएको छ । तर, प्रदेश र प्रतिनीधिसभाका लागि वाम गठबन्धन र नेपाली कांगे्रसबाट एक जना पनि महिला उम्मेदवार परेका छैनन् । राष्ट्रिय जनमोर्चा, मजदुर किसान पार्टी र विवेशशिल साझा पार्टीले भने महिला उम्मेदवारी पनि उठाएका छन् ।

साना दलहरुबाट जिल्लामा चार जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा र प्रदेशसभातर्फ दुई÷दुईजना महिलाको उम्मेदवारी परेको छ ।  समानुपातिकतर्फ जिल्लामा १६ सिटको लागि विभिन्न दलहरुले ५० प्रतिशत महिला उम्मेदवार बनाएका छन् । सुर्खेतसँगै प्रदेश नम्वर ६ का १० जिल्लामा प्रत्यक्षतर्फ उम्मेदवार महिला छैनन् ।

वामगठबन्धनका कारण सिटको भागवण्डा नमिल्नु, राजनीतिमा सक्रिय महिला नहुनुका साथै कतिपय अवस्थामा महिला आफैले आँट नगर्नु र आँट गरेपनि पुरुष नेतृत्वले विश्वास नलिनुका कारण प्रत्यक्षतर्फ महिला उम्मेदवार छैनन् ।

यता दलहरुले समानुपातिकतर्फ भने महिलालाई विशेष जोड दिएको बताउँछन् । नेपाली काँग्रेसका जिल्ला सभापति एंव प्रदेशसभा तर्फ क्षेत्र नम्वर दुई ‘क’का उम्मेदवार कमलराज रेग्मीले प्रत्यक्षतर्फ भन्दा पनि समानुपातिकतर्फ नै महिलाका नेतृत्वको चाहाना देखिएको बताउँछन् । रेग्मी भन्छन् ‘राजनीतिमा नै महिला कम छन् र भएकाले पनि समानुपातिकमा आर्कर्षित देखिए ।’

महिलाहरुको समानुपातिकतर्फ आकर्षित भएका कारण नै समानुपातिकतर्फ उम्मेदवारी दिएको नेकपा एमालेका अध्यक्ष एंव क्षेत्र नम्वर एकका प्रतिनिधि सभा उम्मेदवार धु्रवकुमार शाही बताउँछन् । ‘शिर्ष तथा क्षमता भएका नेताहरुको पालो दिनुप¥यो’ उनी भन्छन्, ‘महिलाहरु समानुपातिकतर्फ नै रुचि देखाए ।’

यता नेकपा माओवादीका केन्द्रका कृष्ण जिसीले पार्टीले सहजिकरण नगरेका कारण महिलाले प्रत्यक्षबाट उम्मेदवार बन्न नपाएको बताउँछन् । ‘पार्टी कमिटीहरु नै महिलालाई अगाडी बढाउन नचाहेको देखिन्छ’ उनी भन्छन्, ‘सिनियर र क्षमता भएका महिला नेतृत्वहरु समानुपातिकमै बस्न मन गरे र जुनिएरलाई पार्टीले अगाडी बढाउन खोजेन ।’

(लेखक भण्डारी रासस सुर्खेतका सम्वाददाता हुन् ।)