☰ open Loading... 19 April 2024|  

यसपटकको चुनावमा ३ मतपत्र, ४ छाप
  | ३० कार्तिक २०७४, बिहीबार १५:४०

काठमाडाै‌ । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताले तीन मतपत्रमा चारवटा मतदान गर्नु पर्ने भएको छ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाका लागि अलग अलग मतपत्रको ब्यवस्था गरेपछि मतदाताले मतदान केन्द्रमा तीनवटा मतपत्र पाउने भएका छन् ।

मतदाताले मतदान केन्द्रमा पहिलो मतपत्र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको पाउनेछन् । सम्बन्धित क्षेत्रमा उम्मेदवार रहेका दलहरुको चुनाव चिन्ह मात्र सो मतपत्रमा हुन्छ ।

प्रतिनिधिसभा सदस्य चयनका लागि प्रत्यक्षतर्फको मतपत्रमा एक छाप लगाएपछि उक्त मतपत्र बाकसमा खसाएपछि मतदाताले प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र पाउँछन् । प्रदेशसभामा उम्मेदवार रहेका दल र स्वतन्त्र उम्मेदवारको मात्र चुनाव चिन्ह सो मतपत्रमा हुन्छ । दोस्रो मतपत्रमा प्रदेशसभाको सदस्यको प्रत्यक्ष चयनका लागि छाप लगाएपछि उक्त मतपत्रलाई बाकसमा खसाल्ने ब्यवस्था छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फका उम्मेदवारलाई दुईवटा अलग अलग मतपत्रमा एक एक छाप लगाई मतदान गरिसकेपछि मतदाताले तेस्रो मतपत्र पाउँछन् ।

तेस्रो मतपत्रबाट मतदाताले आफूलाई मन परेको दललाई मतदान गर्ने ब्यवस्था गरिएको छ । तेस्रो मतपत्रमा दुई खण्डमा चुनाव चिन्ह हुनेछन् । एउटा खण्डमा प्रतिनिधिसभाको समानुपातिक र अर्काे खण्डमा प्रदेशसभाको समानुपातिकका लागि दलहरुको चुनाव चिन्ह दिइएको हुन्छ । तेस्रो मतपत्रमा भने मतदाताले दुई ठाउँमा छाप लगाएर आफूलाई मन परेको दललाई चुन्नु पर्ने हुन्छ ।