☰ open Loading... 2 May 2024|  

३२ जिल्लामा मौन अवधि सुरु
  | ७ मंसिर २०७४, बिहीबार ०९:५७

पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बिहीबारदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौन अवधि मध्यरात १२ बजेदेखि लागू हुनेछ ।

पहिलो चरणको निर्वाचन मंसिर १० गते ३२ जिल्लामा हुँदैछ ।

मौन अवधि लागू भएपछि चुनाव प्रचार प्रसार गर्न पाइँदैन ।

निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यम समेत कुनैपनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

ढकालका अनुसार एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत् समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन ।

आयोगका प्रवक्ता ढकालले भने, ‘मौनअवधिको पालना नगरेमा एक लाख रुपैयाँ जरिवाना, उम्मेदवारी रद्द एवम् कसुर अनुसार अन्य प्रचलित कानुनअनुसार कारबाही हुन्छ ।’

उनले अघि भने, ‘आचारसंहिता नैतिकको कुरा हो, त्यसैले सबैले पालना गर्नुहुन्छ भन्ने विश्वास छ ।’