सुर्खेत । प्रथम चरण अन्तरगत हुन लागेको निर्वाचनका लागि साविकका मध्यपश्चिमाञ्चल विकास क्षेत्रका ९ जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । आईतबार विहान ७ बजेबाट हुने मतदानका लागि सवै तयारी पूरा भएको र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको हो ।
याे पनि पढ्नुहाेस् : प्रदेश ६ : सात जिल्लामा निर्वाचन तयारी पूरा
मध्यपश्चिमाञ्चल विकास क्षेत्रका ९ जिल्लाका ५१० मतदान केन्द्रमा भोली मतदान हुँदैछ । ९ जिल्लामा झण्डै १६ हजारकाे संख्यामा नेपाल प्रहरी, म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी खटिएका छन् ।
केही मतदान केन्द्रको शनिवार नै निर्वाचन आयोगका आयुक्त डा. अयोधीप्रसाद यादव, नेपाल प्रहरीका आईजीपी, नेपाली सेनाका प्रमुख लगायतले निरिक्षण गरेर फर्केको र आवश्यक सवै तयारी पूरा भएको मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका क्षेत्रीय प्रशासक सुरेश प्रधानले जानकारी दिए ।
याे पनि पढ्नुहाेस् : प्रदेश ६ का ७ जिल्लामा थप सुरक्षाकर्मी परिचालन
उनका अनुसार मतदानका लागि नागरिकहरुमा उत्साह छाएको छ । कुनै मतदान स्थलमा अप्रिय घटना भएमा तत्काल हेलिकप्टर र सुरक्षाकर्मी पठाउन सुर्खेत विमानस्थलमा तयारी अवस्था राखिएको प्रधानले जानकारी दिए ।
मतदान सम्पन्न भएपछि हुम्ला र डोल्पा जिल्लाका मतदान केन्द्रबाट हेलिकप्टरबाट मतपेटीका सदरमुकाम ढुवानी गरिने क्षेत्रीय प्रशासक प्रधानले उल्लेख गरे ।
‘डोल्पा जिल्लाका हिमाल पारीका १९ मतदान केन्द्रबाट मतपेटीकाहरु हेलिकप्टरबाट समेत ढुवानी गरिनेछ’ प्रधानले भने,–‘सुरक्षा सम्वेदनशिला हेरेर अन्य जिल्लाका मतदान केन्द्रबाट दिउसोको समयमा मात्रै मतपेटीका ढुवानी गर्नेछौं ।’