☰ open Loading... 17 May 2024|  

बम विस्फोटमा मृत्यु भएका विनोदका अाफन्तले २५ लाख राहत पाउने
  | १४ मंसिर २०७४, बिहीबार १७:५२

पार्वनी बस्नेत
दाङ ।
प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बम विस्फोटमा परि मृत्यु भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई २५ लाख रुँपैया राज्यले राहात स्वरुप उपलब्ध गराउने जानकारी दिएका छन् । विहीवार विहान तुलसीपुर उपमहनगरपालिका वडा नं. १२ क्वाङ्गी स्थित चौधरीको निवासमा श्रद्धाञ्जली दिन पुगेका प्रजिअ श्रेष्ठले त्यस्तो जानकारी दिएका हुन ।

विमा बाफतको १५ लाख र राज्यले राहात स्वरुप उपलब्ध गराउने १० लाख समेत गरि २५ लाख रकम पिडित परिवारलाई उपलब्ध गराइने बताए । निर्वाचन प्रयोजनका लागि देशभर ९६ हजार म्यादी प्रहरी भर्ना भएको भएपनि चौधरी पहिलो सहिद भएको उनले बताए ।

‘राज्यको लागि प्राण त्यागगर्ने विनोद पहिलो म्यादी हुन,’– त्यसैले राज्यले र प्रहरी संगठनले समेत यथोचित सम्मान गर्नेछ ।’ प्रजिअ श्रेष्ठले भने । उनले प्रहरी र म्यादी प्रहरीवाट स्वइच्छिक रकम संकलन गरेर मृतक चौधरीका परिवारलाई आर्थिक सहयोग गरिने बताए । विनोदकी पत्नि १९ बर्षीया अञ्जना चौधरीलाई रोजगारको व्यवस्था तथा उनकी डेढ बर्षीया छोरी प्रमिसाको अध्यनको व्यवस्थापन गर्ने बताए ।

त्यस्तै राप्ती अञ्चल प्रहरी प्रमुख एसएसपी दिलिपबहादुर चौधरीले कतव्र्य पालनका सिलसिलामा मृत्यु वरण गरेका विनोदलाई राज्यको नियम अनुसार पाउने सबै सुविधा प्रदान गर्न भूमिका खेल्ने बताए । उक्त अवसरमा ५ नं. प्रदेश प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक मधुप्रशाद पुडासैनीले किरिया खर्चको लागि व्यक्तिगत रुपमा प्रदान गरेको २५ हजार नगद र जिल्ला प्रहरी कार्यालय दाङको तर्फवाट एसपी दुर्गा सिंहले नगद २५ हजार गरि ५० हजार प्रदान गरिएको थियो ।

त्यसैगरी श्रद्धाञ्जली दिन पुगेका तुलसीपुर उमपहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उपमहानगरपालिकाको तर्फवाट २५ हजार रुँपैंया किरिया खर्चवाफत चौधरी परिवारलाई उपलब्ध गराउने घोषणा गरेका थिए । मेयर पाण्डेले चौधरीकी डेढ बर्षीया छोरी प्रमिसा चौधरीको कक्षा १२ सम्मको सम्पूर्ण पढाई खर्च उपमहानगरपालिकाले बेहोर्ने घोषणा गरेका थिए ।

यसैबीच विनोद चौधरीलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न अञ्चल प्रहरी प्रमुख एसएसपी दिलिपबहादुर चौधरी, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंह, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख सुधिरराज शाही लगाएतका उच्च प्रहरी अधिकारी पुगेका थिए ।

प्रहरीको गाडि मै राखेर विनोदको शव अन्तिम संस्कारका लागि तुलसीपुरस्थित सितलपुर घाटसम्म पुर्याइएको थियो । प्रहरीका उच्च अधिकारी श्रद्धाञ्जलीका लागि पुग्न तथा विनोदको शवलाई सम्मान पूर्वक प्रहरीको गाडिमै राखेर अन्तेष्टिको लागि लगेपछि स्थानीयले प्रहरीको कदमको प्रशंसा गरेका थिए । यसैबीच नेकपा एमालेले दाङले म्यादी प्रहरी विनोद चौधरीको प्राथिव शरिरमा पार्टीको झन्डा ओडाएर सम्मान गरेको छ ।