☰ open Loading... 28 November 2024|  

‘षड्यन्त्रमुलक ढंगबाट निर्वाचनमा कर्मचारी खटाईयो’
  | १५ मंसिर २०७४, शुक्रबार १८:५४

बुद्धिमान पुन
सल्यान । मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले षड्यन्त्रमुलक ढंगबाट निर्वाचनमा कर्मचारी खटाएको भन्दै बाम गठबन्धनले आपत्ति जनाएको छ । राजनीतिक रंग र भेदका आधारमा कर्मचारी खटाइएको र जुनियर कर्मचारीलाई सिनियर कर्मचारीभन्दा तल्लो तहमा राखिएको भन्दै बामगठबन्धनले असहमति जनाएको छ ।

२१ मंसिरमा हुने प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनका गोला प्रथाबाट मतदान अधिकृत र सहायक मतदान अधिकृत छनोट गरेको मुख्य निर्वाचन कार्यालयले बताउँदै आएको छ तर जिल्ला शिक्षाका कार्यालय सल्यानमा कार्यरत ७ जना स्रोत व्यक्ती एउटै क्षेत्रमा खटिएका छन् ।

त्यसैगरी राजनीतिक नियुक्ति पाएका कर्मचारीलाई मतदान अधिकृत बनाएर पठाइएको भन्दै बामगठबन्धन दलहरुले आपत्ति जनाएका छन् । बामगठबन्धनका प्रचार संयोजक नेवबहादुर कवँरले षडयन्त्रमुलक रुपमा कर्मचारी परिचालन गरेको बताए ।

‘षडयन्त्रमुलक रुपमा कर्मचारी परिचालन गरेको हामीले तथ्य पाएका छौ’ –उनले भने, ‘निस्पक्ष निर्वाचनको जिम्मेवारी पाएको संस्थाले नै षड्यन्त्र गरे, त्यसको मुख्य जिम्मेवारी मुख्य निर्वाचन अधिकृतको कार्यालय र प्रमुख जिल्ला अधिकारी हुनेछन् ।’

मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले निर्वाचनमा खटिने १ सय ८० मतदान स्थलका १ सय ११ मतदान केन्दमा ३ सय ६० मतदान अधिकृत र सहायक मतदान अधिकृत पठाउने तयारी गरेको छ । त्यसमा केही करारका कर्मचारी पनि रहेका छन् । कतिपय राजनीतिक नियुक्ति लिएका छन् भने कतिपय प्राविधिक रहेको बाम गठबन्धनको आरोप छ ।

यसैबिच मुख्य निर्वाचन अधिकृत मदन बहादुर धामीले षड्यन्त्र मुलक तथा राजनितिक भेदभाव गरेर कर्मचारी खटाइएको भन्ने आरोप सरासर गलत भएको बताए । उनले भने–‘प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला जनशक्ती कमिटिले जिल्लका विभिन्न कार्यालय र शिक्षकहरुको नामावली मागेको र प्राप्त विवरण अनुसार सिनियर र जुनियर कर्मचारीका आधारमा निर्वाचन आयोगको निर्देशन अनुसार गोला प्रथाद्दारा कर्मचारी खटाईएको हो । ’