☰ open Loading... 2 May 2024|  

झुलाघाटबाट २४ जनाको उद्धार
  | १६ मंसिर २०७४, शनिबार १६:२१

बैतडी । प्रहरीले नेपाल– भारत सीमानाका झुलाघाटबाट चालु आव २०७४÷७५ को हालसम्ममा २४ जनाको उद्धार गरेको छ । सीमा प्रहरी चौकी झुलाघाटका प्रहरी नायब निरीक्षक चक्रदेव पाण्डेयका अनुसार उद्धार गरिनेमा १५ वर्षमुनिका बालबालिका र किशोरकिशोरी छन् ।

गत साउनमा तीन बालबालिका, भदौमा एक किशोर र सात बालबालिका, असोजमा ६ किशोरकिशोरी र दुई बालक, कात्तिकमा एक किशोर र तीन बालबालिका तथा मंसिरमा एक किशोरीको उद्धार गरिएको हो ।

सीमानाका झुलाघाटबाट उद्घार गरिएका बालबालिका तथा किशोरकिशोरीलाई सम्झाइबुझाइ सम्बन्धित अभिभावकको जिम्मा लगाइने प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताए । विद्यालय पढ्ने बालबालिका विद्यालय छोडेर जाने तथा कुनैकुनै बालबालिका काम गर्नका लागि साथीको लहैलहमा घरबाट भागेर जाने गरेका छन् ।

“पढ्न मन नलागेर तथा आर्थिक अवस्था कमजोर भएका कारण भारत जाने गरेका छन्,” उनले भने । आव २०७३÷७४ मा झुलाघाटबाट २० बालबालिका र ३७ किशोरकिशोरीको उद्धार गरिएको थियो ।

आव २०७२÷७३ मा ६४ किशोरकिशोरी र आठ बालबालिकाको उद्घार गरिएको प्रहरीले जनाएको छ । उद्धार गरिएका बालबालिका तथा किशोरकिशोरी प्रदेश नं ७ का पहाडी जिल्लाका साथै हुम्ला र मुगुका समेत रहेका छन् ।