☰ open Loading... 17 November 2024|  

मतदानका लागि सुर्खेतमा तयारी पूरा, मतदानस्थलमा सुरक्षा व्यवस्था कडा
  | २० मंसिर २०७४, बुधबार १७:४८

सुर्खेत । भोली (बिहिवार) हुन लागेको दोश्रो चरणको निर्वाचनको लागि सुर्खेतमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पाँच नगरपालिका र चार गाउँपालिकामा रहेका सवै मतदात केन्द्रहरुमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

याे पनि पढ्नुहाेस् : याे हाे मतदान अधिकृतदेखी कार्यालय सहयाेगीसम्म खटिएका मतदान केन्द्र

दुई प्रतिनिधि सभा र चार प्रदेश सभा सिट रहेको सुर्खेतमा मंगलबारदेखी मतदाता परिचय पत्र वितरण जारी राखिएको छ । जिल्लाका २ सय ६३ मतदान केन्द्रका १ सय ६८ मतदानस्थलमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षाकर्मीहरु सम्वन्धित मतदान स्थलमा पुगेर परिचयपत्र वितरण कार्य जारी राखेका छन् ।

परिचय पत्र आज (बुधबार) दिनभर वितरण गरिएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ । सवै मतदानस्थलमा निर्वाचन सामग्री, मतपेटीका, मतपत्र लिएर मतदान अधिकृत र सहायक मतदान अधिकृतहरु पुगिसकेका छन् ।

पहिलो चरणको निर्वाचन सम्पन्न भएका जिल्लाहरुबाट विप्लव माओवादीका कार्यकर्ताहरु सुर्खेत, दैलेख र सल्यानमा प्रवेश गरेर निर्वाचन विथोल्न सक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको प्रदेश ६ प्रहरी कार्यालय सुर्खेतका एआईजी रणबहादुर चन्दले जानकारी दिए । उनका अनुसार मतदान केन्द्रसहित मुख्य नाकाहरुमा प्रहरीले कडा निगरानी राखेको छ ।

निर्वाचनमा तेस्रो घेरामा रहेको नेपाली सेनाले समेत गस्ती बढाएको छ । सुर्खेतमा ८५ मतदानस्थल अतिसम्वेदनशील, २० सम्वेदनशील र ३३ सामान्य छन् । निर्वाचनलाई लक्षित गरी तीनहरु बढी नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र नेपाली सेना खटिएको छन् ।

निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला सुरक्षा समिति सुर्खेतले विशेष सजकता समेत अपनाएको छ । गत कार्तिकमा सुर्खेत प्रहरीले पश्चिम सुर्खेतबाट ठुलो परिमाणमा विस्फोटक पदार्थ बरामद गरेकाले दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनेमा सुरक्षा निकाय आशावादी छन् ।

जिल्लाका २ लाख चारहजार पाँचसय ७७ मतदाता मतदानमा सहभागी हुँदैछन् । यी मध्य, क्षेत्र नम्बर एकमा एक लाख एक हजार ६३७ र दुईमा १ लाख २ हजार ९४० मतदाता छन् ।

यता, मुख्य निर्वाचन कार्यालय सुर्खेतले २१ गते मतदान सम्पन्न भएपश्चात मतगणनाको लागि मध्यपश्चिमाञ्चल स्वास्थ्य तालिम केन्द्र र सिचाई कार्यालयको भवनमा आवश्यक तारजाली लगाएर गणनाकाे तयारी समेत पूरा गरेकाे छ ।