सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित यामलाल कंडेलले मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् । मंगलबार एक प्रेस विज्ञपतीमार्फत निर्वाचनमा मतदान गरेर विजयी बनाउने मतदाता, वाम गठबन्धनका नेता/कार्यकर्तालगायत शुभचिन्तक सबैलाई कंडेलले धन्यवाद दिएका हुन् ।
नेकपा एमाले प्रदेश नम्बर ६ का सह–संयोजक समेत रहेका नेता कंडेलले निर्वाचनका क्रममा जनतामाझ व्यक्त गरिएका सबै प्रतिवद्धता कार्यान्वयन गर्न ध्यान दिने विज्ञप्तीमार्फत जनाएका छन् ।
धन्यवाद ज्ञापनको पूर्ण पाठमा भनिएको छ, हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सुर्खेत जिल्लामा म लगायत वाम गठबन्धनका सबै उम्मेदवारलाई विजयी बनाउनु हुने सम्पूर्ण मतदाताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
निर्वाचनको क्रममा निरन्तर क्रियाशिल रहनु हुने गठबन्धनका नेताहरु, जनसंगठनहरु, युवा, विद्यार्थी, महिला, किसान, मजदुर, बुद्धिजीवि एवं सम्पूर्णमा आभार व्यक्त गर्दछु । निर्वाचनको क्रममा आमजनसमुदायलाई सुसूचित गर्न सञ्चार क्षेत्रले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद ज्ञापन गर्दछु ।
हामी लामो राजनीतिक अधिकारका लडाई पुरा गरी विकास र आर्थिक समृद्धिको यात्रामा अघि बढेका छौं । भौगोलिक रुपमा ठूलो भएपनि गरिबी, अभाव र असमानता रहेको प्रदेश नम्बर ६ को विकास र समृद्धिनै अबको हाम्रो मुख्य कार्यभार हो ।
यस क्रममा हामीले निर्वाचनका बेला सार्वजनिक गरेको प्रतिबद्धता–पत्र, मौखिक तथा लिखित प्रतिबद्धताहरु साथै जनस्तरबाट प्राप्त सल्लाह, सुझावहरुनै आगामी दिनमा हाम्रा लागि कार्यादेश हुन् । ती सबै कार्यादेश पूरा गर्न सम्बद्ध सबै पक्षबाट निरन्तर सहयोगको अपेक्षा गरेको छु ।’
साथै कंडेलले निर्वाचन सम्पन्न गर्न सफल भूमिका निर्वाह गर्ने मुख्य निर्वाचन अधिकृतसहित निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मीलगायत सम्बद्ध सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।
विज्ञप्तीको अन्तमा कंडेलले भनेका छन्, निर्वाचन लोकतन्त्रलाई सुदृढ गर्ने र नागरिकको सार्वभौम अधिकारलाई प्रयोग गर्ने एउटा महत्वपूर्ण प्रक्रिया हो ।
यो प्रक्रियामा सहभागि सुर्खेतसहित ६ नं. प्रदेशमा क्रियाशिल राजनीतिक दलहरुबाट भएको राजनीतिक संसकारका लागि हार्दिक धन्यवाद दिदैँ प्रदेशको विकास र समृद्धिमा सँगसँगै मिलेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।’