☰ open Loading... 3 May 2024|  

‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’को सम्भाव्यता अध्ययन शुरु
  | ३ पुष २०७४, सोमबार ११:५४

जुम्ला । विश्वको सर्वाधिक उचाइमा धान फल्ने स्थान जुम्लाको साविकको छुमचौर गाविसको लौठचौरमा निर्माण गरिने ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’को सम्भाव्यता अध्ययन कार्य शुरु गरिने भएको छ ।

कर्णाली तथा ६ नं प्रदेशको खेलकुद गतिविधि, ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ रंगशाला निर्माणका लागि आवश्यक मापदण्ड र भौगोलिकताको अनुगमनका क्रममा जुम्ला पुगेको युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाल नेतृत्वको टोलीले ‘ ट्रेनिङ सेन्टर’ सम्भाव्यता अध्ययनको कार्य शुरु गर्ने भएको हो ।

सोहीअनुसार आजैदेखि सम्भाव्यता अध्ययनको कार्य थाल्ने जिल्ला खेलकुद विकास समितिको कार्यालय जुम्लाका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए ।

टोलीले छुमचौरको लौठचौरमा निर्माण हुने ‘ ट्रेनिङ सेन्टर’लाई ‘कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ जुम्ला खलंगामा निर्माण प्रस्ताव गरिएको राँझासिमलाई ‘कर्णाली रंगशाला’ नामाकरण गर्न सुझाएको छ । दुवै संरचना निर्माणको कार्य शुरु गर्न भन्दै सचिव दाहालले मन्त्रालयबाट हुने सहयोगमा यो क्षेत्रलाई प्राथमिकता दिने वचन दिए । मन्त्रालयको टोलीले रंगाशालाका लागि प्रस्तावित चन्दननाथ नगरपालिकाको राँझासिम, कभर्ड हल र जुम्लाको खेल गतिविधिको अनुगमन गरेको छ ।

‘कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ र ‘कर्णाली रंगशाला’ निर्माणले एकातिर ६ नं प्रदेशको खेल जगतको पूर्वाधार तयार हुनेछ भने अर्कोतिर कर्णाली क्षेत्रलाई खेलकुद पर्यटनका रुपमा विकास गर्दै लैजान ठूलो अवसर प्राप्त हुने देखिन्छ । यसका लागि सम्बन्धित सबै सरोकारवालाले बेलैमा ध्यान दिन आवश्यक छ ।