☰ open Loading... 2 May 2024|  

जनयुद्धमा मारिएका व्यक्तिको सम्झनामा शान्ति स्मारक
  | ७ पुष २०७४, शुक्रबार १७:३९

 

रोल्पा । दश वर्ष लामो सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका र बेपत्ता भएका रोल्पालीको सम्झनामा निर्माण गरिने शान्ति स्मारकको लिवाङमा शिलान्यास गरिएको छ ।

द्वन्द्वमा श्रीमान गुमाएकी तुला वली, जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा र रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले विहिबार संयुक्तरुपमा स्मारकको शिलान्यास गरेका हुन ।

रोल्पा नगरपालिकाको रु एक लाख ५० हजार र मानव अधिकार तथा कानूनी सेवा केन्द्र, रोल्पाको चार लाख गरी कुल ५ लाख ५० हजारको लागतमा बन्ने सो शान्ति स्मारक सदरमुकामस्थित टुँडिखेलको दक्षिणतर्फ रहेको छ ।

शिलान्यासपछि आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बुढाले बृहत शान्ति सझौताको मर्म अनुरुप सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगले पनि जिम्मेवारी पूरा गर्नेमा आफू आशावादी रहेको बताए । जनयुद्धमा ज्यान गुमाएका तथा बेपत्ता भएकाहरुको परिवारलाई राज्यले केही राहत दिएको भए पनि त्यो अपुग रहेको उनको भनाइ थियो ।

जनयुद्धका क्रममा ज्यान गुमाएका र बेपत्ता भएका रोल्पालीको शान्ति स्मारकमा नाम नामेसी राखिने मानव अधिकार तथा कानुनी सेवा केन्द्र, रोल्पाका खेम बुढाले जानकारी दिए ।

शान्ति स्मारकमा २०५२ साल फागुन १ देखि २०६३ साल मंसिर ५ गतेसम्म ज्यान गुमाएका र बेपत्ता भएका व्यक्तिको नाम र ठेगाना राखिने उनले बताए ।

माओवादी सशस्त्र युद्धमा देशमै सबैभन्दा धेरै धनजनको क्षति भएको रोल्पामा राज्य र विद्रोही पक्षबाट ९७० जनाले ज्यान गुमाएका थिए भने ३३ जना बेपत्ता भएका थिए ।