बर्दिया । राजधानी माग गर्दै देशभर नै चर्को बहस भइरहेका बेला बर्दियाबासीले ५ नं. प्रदेशको राजधानी नेपालगञ्ज तोक्न माग गरेका छन । जिल्ला प्रशासन कार्यालयमा मंगलबार ज्ञापन पत्र बुझाउदै उनीहरुले राज्यले आफना माग नसुने संघर्ष समिति गठन गरि आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
‘हामीलाई बुटवल ज्यादै टाढा पर्छ’ ज्ञापन पत्र बुझाउने टोलीको अगुवाई गरेका विद्या खनालले भने ‘त्यो भन्दा त हामीलाई सुर्खेत पुग्न नजिक पर्छ, बुटवल राजधानी हुने भए हामी प्रदेश ५ बाट अलगिन्छौ र ६ नं. प्रदेशमा मिसिन्छौ ।’
सबैलाई पायक पर्ने स्थानमा राजधानी तोक्न उनिहरुले माग गरेका हुन । प्रदेश नं. ५ को राजधानी बुटवल तोकिने सम्भावना रहेको आशंका बर्दियाबासीलाई छ ।
राजधानीको लागि सबै पुर्वाधार पुगेको भए पनि नेपालगञ्ज वा दाङ सबैलाई सहज हुने स्थानियको भनाई छ । प्रदेशको राजधानी तोक्ने विषयमा सुझाव दिन गठित समितिले ५ नं. प्रदेशको राजधानी दाङ तोक्न सुझाव दिएको थियो ।
राजधानी बुटवल र दाङ कहाँ हुने भन्ने विषयमा बैचारिक विवाद चर्किएका बेला नेपालगञ्ज राजधानी बनाउन बर्दियाबासीले माग गरेका हुन ।