☰ open Loading... 3 May 2024|  

कञ्चनपुरमा होमस्टे व्यवसाय फस्टाउँदै
  | १३ पुष २०७४, बिहीबार १३:४८

भीमदत्तनगर  ।  बितेको दुई वर्षमा कञ्चनपुरको भीमदत्तनगरमा सञ्चालित थारु समुदायको ‘राना थारु होमस्टे’को दुई हजार ५०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेका छन् ।

भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा नेपालमै पहिलोपटक राना थारु होमस्टे सञ्चालनमा आएको छ ।
पछिल्लो समय कञ्चनपुरमा होमस्टेको व्यापार फष्टाउँदै गएको छ । राना थारु सामुदायिक होमस्टे समितिका सचिव चेतराम राना बितेको दुई वर्षमा समूह र एकल गरी धेरै पाहुनाले होमस्टेमा रात बिताएको बताए  ।

“गत साउनयता ग्रुपमा आउने पाहुना अलि कम भए,” उहाँले भन्नुभयो, “केही दिनयता मुलुकमा विभिन्न क्षेत्रबाट पाहुना आउने क्रम बढेको छ ।”
नयाँ कटानमा आठवटा घरमा होमस्टे सञ्चालनमा छ । होमस्टेमा आउने अधिकांश पर्यटक राना थारु समुदायको पहिरनबाट आकर्षित हुने गरेका छन् । “विदेशी पाहुना त हाम्रो पहिरन देखेर खुबै खुशी हुन्छन्,” रानाले भन्नुभयो, “शुक्लाफाँटा र छेउमै रहेको एशियाकै लामो झोलुङ्गे पुल हेर्ने पाहुना यहाँ बस्न रुचाउँछन् ।”

पछिल्लो वर्ष पर्यटक आगमनमा केही कमी आए पनि होमस्टे आर्थिकरुपले प्रभावित नहुने उनकाे भनाइ छ । “होमस्टेमै भर परेर सञ्चालनमा ल्याइएको होइन,” उहाँले भन्नुभयो, “पर्यटक नआउँदा होमस्टे सञ्चालक निराश छैनन् ।”

कैलालीको भादा, बर्दियाको डल्ला, चितवनलगायत देशका अन्य क्षेत्रमा थारु चौधरीलगायत अन्य जातिले आफ्नो समुदायमा होमस्टे सञ्चालन गरेका छन् । सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारु समुदायले भीमदत्तनगरमा पहिलोपटक होमस्टे सञ्चालन गरेका थिए ।

तराई भू–परिधि कार्यक्रम (ताल) को प्राविधिक तथा भौतिक सहयोगबाट शुरु गरिएको होमस्टे सञ्चालनका लागि शुक्लाफाँटा मध्यवर्ती व्यवस्थापन समितिले शुरुवातमा सहयोग गरेको थियो । “थारु समुदायको कला, रीति, संस्कृति जगेर्ना गर्ने उद्देश्यले होमस्टे सञ्चालन गरेका हौँ,” रानाले भन्नुभयो, “होमस्टेबाट हाम्रा सन्ततिले आफ्नो संस्कृतिबारे धेरै ज्ञान लिने अवसर पाएका छन ।”
होमस्टेमा आउने पाहुनालाई विभिन्न परम्परागत नाच देखाउनुका साथै पहिरनको समेत अवलोकन गराउने गरिएको छ । महाकाली नदीमा पक्की पुल निर्माण भएपछि पश्चिमी नाका भएर नेपाल घुम्न आउने पर्यटक होमस्टेको अवलोकन गर्न आउने रानाको विश्वास छ ।

“महाकालीको पुल सञ्चालनमा आएपछि प्रवेशद्वारमै थारु होमस्टेमा पाहुनालाई स्वागत गर्न सहज हुन्छ,” उनकाे भनाइ छ  ।

माघीमा नयाँ होमस्टे सञ्चालन 

शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा चौधरी थारु समुदायले होमस्टे सञ्चालनको तयारी थालेका छन् । चौधरी समुदायको प्रमुख चाड ‘माघी’ पर्वका अवसरमा आगामी माघको पहिलो सातादेखि उक्त होमस्टे सञ्चालनमा ल्याइने खैरकन्द्रा सामुदायिक होमस्टे जोनापुरका कोषाध्यक्ष रामप्रसाद चौधरीले बताए ।

“नौवटा घरमामा होमस्टे स्थापना गरी प्रदेश नं ७ कै नमूना होमस्टेका रुपमा विकास गर्छौं,” उहाँले भन्नुभयो, “होमस्टेमा आउने पाहुनाको स्वागतको सबै तयारी हुँदैछ ।”

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र जेडएसएललगायतका संस्थाबाट होमस्टे स्थापनाका लागि सहयोग उपलब्ध भएको उहाँले बताउनुभयो । विभिन्न दाताले रु तेह्र लाख नगर होमस्टेका लागि सहयोग गरेको छ । शुक्लाफाँटा निकुञ्जले तालीम÷प्रशिक्षणलगायतको प्राविधिक सहयोग गरेको छ । यसका लागि तीनवटा घर निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी ६ वटा निर्माणाधीन अवस्थामा छन् ।

“होमस्टेमा पुराना थारु नृत्य, संस्कृति र वेशभूषाले पाहुनालाई आकर्षित गर्छौं,” उहाँले भन्नुभयो, “शुक्लाफाँटा निकुञ्जको छेउमै होमस्टे भएकाले पाहुनालाई थप मनोरञ्जन प्रदान हुनेछ ।”

राष्ट्रिय प्रकृति संरक्षण कोष, महेन्द्रनगर कार्यालयका कार्यालय प्रमुख अनिल प्रसाईंले जोनापुरमा होमस्टे सञ्चालनका लागि थारु समुदायलाई रु १३ लाख अनुदान दिएको बताउनुभयो । अक्षयकोष स्थापना गरेर सो समुदायको संस्कृति संरक्षणसँगै आयआर्जनमा टेवा पुगोस् भनेर सहयोग गरेको उहाँले बताउनुभयो । खैरकन्द्रा सामुदायिक होमस्टे यहाँको पूर्व–पश्चिम राजमार्गस्थित झलारी बजारबाट छ किमी दक्षिणमा पर्छ ।