☰ open Loading... 17 May 2024|  

टरीगाउँ विमानस्थल सञ्चालन हुने
  | १४ पुष २०७४, शुक्रबार १२:४०

दाङ । चुवानमा ठूलो एजेण्डा बन्ने गरेको यहाँको हवाई सेवा पुनः सञ्चालनमा आउने भएको छ । राजनीतिक दल, संघसंस्था होस् वा उद्योगी–व्यवसायी, सबैको चुनावी एजेण्डामा पर्ने गरेको टरिगाउँ विमानस्थल पुस २३ गतेदेखि सञ्चालनमा आउने भएको हो । अब हप्तामा दुई पटक निजी विमान कम्पनीको सहकार्यमा उडान हुने भएको छ ।

२०१६ सालमा निर्माण भएको विमानस्थल यहाँका राजनीतिक दलको दबाबमा धावनमार्ग कालोपत्र भएसँगै तुलसीपुर उद्योग वाणिज्य संघले उडानको जिम्मा लिएपछि सञ्चालनमा आएको तुलसीपुर–काठमाडौं हवाई सेवा अनिश्चित भएको थियो ।

पहिले हवाई सेवा सञ्चालनका लागि टिकट बिक्रीको समेत जिम्मा लिएको उद्योग वाणिज्य संघले अबदेखि त्यसो गर्न नसकिने भनेपछि यहाँ उडान भर्दै आएको गोमा एयरले हवाई सेवा निरन्तरता दिन अनिच्छा देखाएको थियो ।

त्यसैबीच, लामो समयको छलफल र गृहकार्यपछि हप्तामा दुई दिन निजी विमानले उडान भर्ने सहमति भएको बताएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे र समिट एयरका सिइओ मनोज कार्कीले बिहीबार काठमाडौंमा सहमति गरेपछि विमान सञ्चालनमा आउने भएको हो ।

सहमतिअनुसार तत्कालका लागि सातामा दुईपटक आइतबार र शुक्रबार विमान उडाउने सहमति भएको हो । तुलसीपुरदेखि काठमाडौंसम्म सिधा उडान हुने सहमति भएको पनि प्रमुख पाण्डेले बताए । ‘अहिलेलाई काठमाडौंबाट आउँदा १६ र जाँदा १८ यात्रु बोक्ने गरी सहमति भएको छ,’ पाण्डेले भने ।

हाल दाङ—काठमाडौका लागि भाडा ६ हजार ६०० र काठमाडौ—दाङका लागि सात हजार भाडा तोकिए पनि दैनिक उडान भएपछि केही घट्ने बताइएको छ ।

पाण्डेले भने, ‘अहिले भाडा यही तय भएको छ, यात्रुको चाप र उडान थपपछि केही थपघट हुन सक्छ ।’ यस अघि प्रमुखले आफूले सय दिनमा तुलसीपुरमा हवाई सेवा शुरु गर्ने उद्घोष गरेका थिए । तुलसीपुरमा कालोपत्रे एयरपोर्ट हुँदा पनि नियमित हवाई सेवा नहुँदा यहाँका स्थानीय नेपालगन्ज र भैरहवाबाट यात्रा गर्न बाध्य थिए ।