☰ open Loading... 17 May 2024|  

लागूऔषध प्रयोगमा काठमाडौं अग्रस्थानमा
  | १४ पुष २०७४, शुक्रबार १६:२४

काठमाडौं । लागूऔषध प्रयोगमा काठमाडौं अग्रस्थानमा देखिएको छ । गृह मन्त्रालयका अनुसार, लागूऔषध प्रयोग गर्नेमा काठमाडौं अग्रस्थानमा देखिएको हो ।

मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार काठमाडौंमा ३६ हजार ९ सय ९८ युवायुवती लागू पदार्थकोको दुर्व्यसनमा फसेका छन् भने दोस्रो नम्बरमा सुनसरीका ७ हजार ४ सय ७ जना युवायुवती लागू औषध दुर्व्यसनमा फसेका छन् ।

त्यस्तै, तेस्रोमा कास्कीका ६ हजार ९ सय १७, चौथोमा मोरङका ६ हजार ४ सय १५, पाँचौमा झापाका ६ हजार ८ युवयुवतीले लागूऔषधको प्रयोग गरेका छन् । रुपन्देही, चितवन, बाँके, पर्सा, मकवानपुर जिल्लाहरु समेत लागूऔषधको प्रयोगमा अघि देखिएका छन् ।

गृह मन्त्रालयअन्तर्गतको लागूऔषध नियन्त्रण कार्यक्रम महाशाखाले आज राजधानीमा गरेको एक कार्यक्रममा नेपालमा ९१ हजार ५ सय ३४ युवायुवती लागूऔषधको दुर्व्यसनमा फसेको तथ्यांक सार्वजनिक गरिएको छ । जसमा ७ प्रतिशत महिला र ९३ प्रतिशत युवाले लागूऔषधको प्रयोग गरेका छन् । यसमा बढि २० देखि २४ वर्ष समूहका युवायुवती संलग्न देखिन्छन् ।

गृहसचिव मोहनकृष्ण सापकोटाले लागूऔषध कारोबार नेपालमा डरलाग्दो तवरले बढ्नु दुखद भएको उल्लेख गर्दै नियन्त्रणका निम्ति राज्यले कुनै कसर बाँकी नराख्ने बताए ।

मन्त्रालयका सहसचिव एवं मुख्य औषध नियन्त्रण अधिकारी केदार न्यौपानेले रोग निको पार्न प्रयोग गरिने पदार्थ औषध भएपनि यसको दुरुपयोग असाध्यै बढेको बताए । उनले सरकारको प्रयासमा मात्रै लागूऔषध दुव्र्यसनी नियन्त्रण गर्न गाह्रो रहेको टिप्पणी गर्दै यसमा सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए । लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक ठूले राईले प्रहरीको २ सय ५० युनिटले लागूऔषध नियन्त्रणका निम्ति काम गरिरहेको बताए ।

उनका अनुसार प्रहरीमा ७ प्रतिशत मुद्दा लागूऔषध कारोबारसम्बन्धी रहेका छन् । राईले लागूऔषध कारोबारमा बाह्य देशका नागरिकको समेत संलग्नता बढ्दै गएको भन्दै नियन्त्रणमा चुनौती थपिएको जानकारी दिए । प्रहरीका अनुसार हालसम्म ३४ देशका ५२ नागरिक लागूऔषध कारोबारमा संलग्न भएका छन् भने उनीहरु विरुद्ध कारबाही चलाइएको छ ।

कार्यक्रममा नार्कोनन् नेपालका अध्यक्ष वसन्तराज कुँवरले विश्वभर समस्याका रुपमा देखिएको लागूऔषध समस्या नेपालमा भित्रिसकेको बताउँदै नियन्त्रणका निम्ति राज्यले गरेको प्रयास निकै कम भएको औंल्याए । उनले विद्यालयका पाठ्यक्रममा समेत यसबारेमा कम उल्लेख गरिएको भन्दै पाठ्यक्रम बदल्न आवश्यक रहेको दाबी गरे ।

आफ्नो संस्थाको अध्ययनमा लाखौं नेपाली लागूऔषधको दुव्र्यसनमा फसेको उल्लेख गर्दै राज्यले कडा नीति अबलम्बन गरी दुव्र्यसनी नियन्त्रण गर्नुपर्नेमा जोड दिए । कुँवरले २०–४० अर्ब रकम लागूऔषधको कारोबारका कारण बाहिरीएको बताउँदै यही अवस्था रही रहे नेपालले ठूलो मूल्य चुकाउनुपर्ने खुलासा गरे