सुशील खड्का
सुर्खेत । प्रतिनिधि र प्रदेश सभा निर्वाचन अघि ६ नम्बर प्रदेशको राजधानी सुर्खेतमा राख्नेमा दुइ मत थिएन् । २१ गतेको निर्वाचन पश्चात प्रदेश ६ को राजधानी सुर्खेतबारे राजनीतिक बहस शुरु भयो । आन्दोलनको बलमा स्थापित यो प्रदेशको नाम र राजधानीको विषयमा दलहरू पनि लगभग एकमत चु्नाव अघि देखिएका थिए । तर जुम्लाबाट निर्वाचित सांसद् र त्यहाँका दलहरुले जुम्लामै राजधानी वा गृष्मकालीन राजधानीको माग गर्दै राजनीतिक माहोल तताउन थालेका छन् ।
प्रदेश सीमाकंनको क्रममा दलहरूले कर्णालीका पाँच, भेरीका तीन र राप्तीका दुई जिल्लालाई सुदूरपश्चिममा गाभेर एउटा प्रदेश घोषणा गरे । त्यसैको विरोधमा २०७२ साउन २२ गते सुर्खेतबाट आन्दोलन सुरु भयो । मध्यपश्चिम विकास क्षेत्रको सदरमुकाम रहेको सुर्खेतले प्रदेशमा जाँदा पनि राजधानी पाउने सम्भावना देखेको थियो ।
त्यही सम्भावना गुम्ने खतरा देखेपछि छुट्टै प्रदेश माग्दै आन्दोलन चल्यो । उक्त आन्दोलनलाई कर्णालीले पनि साथ दियो । चार जनाको ज्यान जाने गरी १३ दिनसम्म चलेको आन्दोलनपछि अन्ततः सुदूरपश्चिममा गाभिएका १० वटा जिल्ला फिर्ता गरेर ६ नम्बर प्रदेश घोषणा भयो । छुट्टै प्रदेश घोषणा हुनुलाई नै सुर्खेत राजधानी बन्ने पहिलो आधार मानियो ।
नाम र राजधानीको विषयमा विवाद नदेखिएपछि सुर्खेतले प्रादेशिक राजधानीका लागि आवश्यक सम्भावनाहरू खुट्याउन थाल्यो । भौगोलिक सुगमता, प्रशासनिक सहजता र आर्थिक सवलताका कारण पनि प्रदेशका अन्य जिल्लाहरू सुर्खेतलाई राजधानी स्वीकार गर्न तयार थिए सोही अनुरुप सरकारले पनि अस्थायी राजधानी सुर्खेतमा तोक्यो ।
सोही अनुसार नै वीरेन्द्रनगरमा भौतिक पूर्वाधार निर्माण र आधारहरूको बस्तुस्थिती सहितको प्रतिवेदन सरकारलाई क्षेत्रीय प्रशासन कार्यालयले बुझाइ सकेको छ । वीरेन्द्रनगर अर्थात् सुर्खेतसँग कर्णालीको सामिप्यता छ । कर्णालीका अधिकांश बासिन्दा सुर्खेतमा पनि बसोबास गर्दछन् ।
यसकारण पनि उनीहरू सुर्खेतलाई राजधानीको रूपमा अस्वीकार गर्न सक्दैनन् भन्ने छाप थियो । अन्य जिल्लाले नै चर्चा गर्न थालेपछि सुर्खेतले राजधानीका लागि थप आधारहरू निर्माण थालेको बेला एकाएका जुम्लाबाट मौसमी राजधानीको माग गुञ्जयमान बन्न थालेको छ ।
पूर्वाधारको अवस्था
राजधानी बन्ने सम्भावना बढ्दै गएपछि वीरेन्द्रनगरमा आवश्यक पूर्वाधार निर्माण गर्न थालिएको छ । साँघुरा र कच्ची सडकहरू विस्तार तथा मर्मत कार्य जारी छन् । वीरेन्द्रनगरस्थित धुलियाविटदेखि बाङ्गेसिमलसम्म करिब ६ किलोमिटर सडकलाई चारलेन बनाउने कामले तीव्रता पाएको छ । वीरेन्द्रनगर उपत्यकामा चक्रपथ निर्माणको प्रक्रिया पनि अगाडि बढेको छ ।
राजधानीका लागि आधार तयार गर्न भन्दै नगर क्षेत्रमा सीसी क्यामेरा र सोलार बत्ती जडान भएका छन् । सुविधा सम्पन्न सीटी बसपार्क निर्माणको काम पनि जारी छ । सुर्खेत विमानस्थल साँघुरो भएपछि भेरीगंगाको मदानेचौरमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सम्भाव्यता जारी छ ।
‘प्रादेशिक राजधानीका लागि वीरेन्द्रनगरको विकल्प छैन, त्यसैलाई आधार मानेर हामीले विकास योजना निर्माण गरेका छौं’ नगरपालिकाका उपमेयर मोहनमाया ढकाल भन्छिन्, ‘भोलि पछुताउनुभन्दा आजैदेखि हामीले काम थालेका हौं, वीरेन्द्रनगरलाई भौतिक र नीतिगत रूपमासमेत राजधानीको लागि आवश्यक आधार खडा गर्दैछौं ।
सोही अनुसार नै भौतिक निर्माणको काम भइरहेको छ, यसले भोलिका दिनमा सहज हुनेछ ।’ नगरपरिषद्बाटै राजधानी अनुकूलका योजनाहरू पारित गरिएको भन्दै उनले सोही अनुसार पूर्वाधार निर्माणको काम भइरहेको बताइन । राजधानी बनेपछिको खानेपानी संकट टार्न खरी र बोरीखोला आयोजना निर्माण भइरहेको छ ।
यस्तै नगरपालिकाले दमकल खरिद प्रक्रिया अगाडि बढाएको छ । पूर्वाधार भएमा राजधानी बनाउने आधार थप बलियो हुने बुझेका जिल्लाका दलहरूसमेत हौसिएका छन् । दलहरूले पनि वीरेन्द्रनगरलाई नमुना सहरको रूपमा विकास गर्नुपर्नेमा जोड दिन थालेका छन् ।
राजधानीका लागि आवश्यक संरचनाहरू निर्माण गर्न जग्गाको अभाव हुन नदिन नगरपालिकाले अहिलेबाटै जग्गा खण्डीकरणमा रोक लगाएको छ । फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइड निर्माण भइरहेको छ । नगरका सबै सडकहरू कालोपत्रे गर्ने र सहरलाई आधुनिक प्रविधिमा जोड्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ । यसले पनि सुर्खेतलाई राजधानी बनाउने बलियो आधार तयार पारिदिएको छ ।
औद्योगिक हव बन्दै
सुर्खेतले आर्थिक सम्भावनाहरूको पनि खोजी गर्न थालेको छ । हालसम्म आर्थिक रूपमा पिछडिएको यो प्रदेश अन्तर्गत कर्णालीमा अहिले पर्याप्त उत्पादन हुँदैन । बाहिरबाट आयात गरेर गुजरा टार्नुपर्ने बाध्यताबाट मुक्त हुँदै आर्थिक रूपमा सवल हुने उपायको खोजी भइरहेको छ ।
अन्य जिल्लाको तुलनामा केही सवल मानिएको सुर्खेतले नै समग्र प्रदेशको अर्थतन्त्रलाई थेग्नुपर्ने बाध्यता छ । यही बाध्यता बुझेको सुर्खेतले समग्र प्रदेशलाई नै थेग्नेगरी आर्थिक विकास र औद्योगिकरणको सम्भावना खोज्न थालेको हो ।
राजधानीको चर्चासँगै सुर्खेतको साटाखानीमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापनाको प्रक्रिया अगाडि बढेको छ । पश्चिम नेपालकै सबैभन्दा ठूलो दावी गरिएको चौकुने सिमेन्ट उद्योग सञ्चालनको काम सुरु भएको छ ।
कर्णालीमा पाइने जडिबुटी प्रशोधनका लागि सुर्खेतमा प्रशोधन केन्द्र स्थापना भएको छ । यस्तै वीरेन्द्रनगरमा बहुमूल्य रत्न पत्थर प्रशोधन उद्योग पनि सञ्चालनमा आएको छ । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी भन्छन्, ‘सुर्खेत अब निर्विकल्प राजधानी हो, हामी अन्य जिल्लाभन्दा आर्थिक रूपमा पनि सक्षम छौं ।’
भेरी–बबई, वेतन हाइड्रोपावर र माथिल्लो कर्णाली जलविद्युत आयोजना पनि प्रदेश ६ मै पर्दछन् । यी आयोजनामध्य माथिल्लो कर्णालीको निर्माण जिम्मा लिएको जिएमआरले काम होल्ड गरे पनि बाँकी दुई आयोजनाको निर्माणक्रम जारी छ ।
यीनै आयोजना सञ्चालनमा तदरुकता देखाउने हो भने रोजगारीका लागि भारत र तेस्रो मुलक जाने हजारौं युवालाई रोक्न सकिने आधारहरु समेत यहाँका दलहरुले घोषणापत्रमा समावेश गरेका छन् । पछिल्लो समयमा वीरेन्द्रनगरमा तीन तारे होटल समेत सञ्चालनमा आएका छन् । यसले पनि सुर्खेतलाई आर्थिक रूपमा राजधानीका लागि थप टेवा पु¥याएको छ ।
प्रशासनिक सहजता
प्रदेश राजधानीका लागि सुर्खेतले प्रशासनिक क्षेत्रमा धेरै लगानी गर्नुपर्ने देखिन्न । अहिले पनि मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम भएकाले अधिकांश कार्यालयहरू वीरेन्द्रनगरमै छन् । अहिलेकै संरचनाहरूलाई प्रदेश सरकार, संसद भवन, सचिवालय र मन्त्रालय राख्न सकिने अन्तिम कार्यप्रतिवेदन मन्त्रीपरिषद्को कार्यालयमा बुझाइ सकिएको छ ।
यसले सरकारलाई प्रदेश सरकार सञ्चालनमा आर्थिक भार कम पर्ने देखिन्छ । राजधानीका लागि आवश्यक पर्ने प्रशासनिक पूर्वाधारहरू प्रदेशका अन्य जिल्लाको तुलनामा यहाँ बढी छन् ।
यिनै भौतिक संरचनाहरूलाई प्रयोग गर्न सकिने भएकाले पनि सुर्खेतमा राजधानी बनाउँदा यो प्रदेशले धैरै दुःख गर्नुपर्ने अवस्था नभएको मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका क्षेत्रीय प्रशासक सुरेश प्रधान बताउँछन् ।
भौगोलिक रूपमा अन्य जिल्लाको तुलनामा समथर, कर्णालीको प्रवेशद्वार र अहिलेका सरकारी संरचनाहरूका कारण पनि सुर्खेतमा राजधानीको सम्भावना बढी देख्न थालिएको हो ।
‘गठन हुने प्रदेश संसद र मन्त्रालयको व्यवस्थापनका लागि यहाँ समस्या छैन’ प्रधान भन्छन्,–‘प्रादेशिक संसद, कार्यपालिका र न्यायपालिकाको संरचना निर्माणका लागि वीरेन्द्रनगरमा आवश्यक पर्ने नयाँ भवन तत्काल निर्माण गर्नु पर्दैन् पुराना भवनमै सवै व्यवस्थापन गर्न सहज छ ।’ प्रदेशको नाम र राजधानी प्रदेश सभाले नै तोक्ने भए पनि प्रशासनिक सहजताको लागि सुर्खेतमा नै राजधानीको सम्भावना बढी छ ।
स्वास्थ्य र शिक्षामा अब्बल
मध्यपश्चिम विश्वविद्यालय र मध्यपश्चिम क्षेत्रीय अस्पतालले पनि सुर्खेतमा राजधानीका लागि बल पु¥याएका छन् । अर्कोतर्फ सरकारले नै सुर्खेतमा प्रादेशिक मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको छ । मेडिकल कलेज स्थापनाका जग्गाको खोजीसमेत भइसकेको छ ।
मध्यपश्चिम विश्वविद्यालयको मातहतमा रहने गरी कलेज स्थापनाको आवश्यक प्रक्रिया अगाडि बढेको छ । यस्तै प्रदेशकै केन्द्रीय अस्पतालको रूपमा क्षेत्रीय अस्पताललाई विस्तार गर्न लागिएको छ । अस्पतालमा साढे तीन सय शैया विस्तार निर्माण द्रुत गतिमा अघि बढेको छ । राजधानीका लागि सुर्खेतले स्वास्थ्यमा समेत सुधार गर्न थालेको हो ।
जिल्लामा निजी अस्पतालहरू पनि स्थापना भइरहेका छन् । शिक्षाको विकासमा पनि विस्तारै जिल्लाले फड्को मार्न थालेको छ । प्रदेशमा एउटा मात्र विश्वविद्यालय वीरेन्द्रनगरमा हुनुले पनि राजधानी बन्ने बलियो आधार भएको छ ।
सिटामोल समेत नपाएर अकालमा बिरामीले ज्यान गुमाउनुपर्ने र उच्च शिक्षाका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यतालाई पछिल्लो समय सुर्खेतले रोक्न थालेको छ । स्वास्थ्य र शिक्षामा अब्बल बन्दै जानुले पनि प्रादेशिक राजधानीका लागि सुर्खेतको सम्भावना बढ्दै गएको छ ।
राजनीतिक नेतृत्व सकारात्मक
प्रमुख दलहरूसमेत यो प्रदेशको नाम र राजधानीको विषयमा एकमत हुनुले पनि सुर्खेतलाई यो दौडमा सहज भएको छ । अघिल्लो वर्ष नै नेकपा एमाले र माओवादी केन्द्रका प्रदेश कमिटीले प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेतलाई बनाउने औपचारिक निर्णय नै गरेका थिए । कांग्रेसले औपचारिक निर्णय नगरे पनि यसमा सहमत छ ।
प्रदेशका बहुमत जिल्लाहरूले सुर्खेतलाई सम्भावित राजधानीको रूपमा स्वीकार गरिरहँदा जुम्लाले भने राजधानीको दाबी गरेको छ । यद्यपि कर्णालीका अन्य चार जिल्ला नै सुर्खेतको पक्षमा उभिएका छन् ।
दैलेखका प्रदेश सांसद् धर्मराज रेग्मी भन्छन्,–‘राजधानीका लागि भौतिक संरचना र पर्याप्त भूगोल चाहिन्छ, जुम्लामा त्यो सम्भावना देखिदैन । सबै हिसाबले सुर्खेत नै राजधानीका लागि उपयुक्त छ, सुर्खेतको विकल्प खोज्नु हुँदैन ।’ प्रदेशको नाम कर्णाली राख्नुपर्ने र राजधानी सुर्खेत बनाउँदा सबैलाई न्याय हुने उनको भनाइ छ ।
ठूला दलहरू प्रदेशको सुर्खेतलाई राजधानी बनाउने र कर्णालीलाई विशेष अधिकार दिएर मनाउने मनस्थितिमा छन् । प्रदेशको नाम कर्णाली राखेको खण्डमा जुम्ला पनि लचिलो हुने देखिन्छ । यही बुझाईका आधारमा प्रदेशको नाम कर्णाली राखेर भए पनि राजधानी सुर्खेतमा स्थापना गर्ने विषयमा यो प्रदेशका दलहरू एकमत देखिन्छन् ।
भेरीका दैलेख र जाजरकोट तथा राप्तीका सल्यान र रुकुमले भने राजधानीका लागि दाबी गरेका छैनन् । यी जिल्लाहरू पनि जुम्लाको तुलनामा सुर्खेतमा राजधानी बनाउँदा पायक पर्ने अडानमा भने देखिन्छन् ।
सडक सञ्जालको केन्द्र
सडक सञ्जालको हिसाबले सुर्खेत यो प्रदेशको केन्द्र बनेको छ । सुर्खेतबाट कर्णालीलाई जोड्ने कर्णाली राजमार्ग र जाजरकोट, रुकुम र डोल्पालाई जोड्ने भेरी करिडोरका कारण पनि सुर्खेत केन्द्रमा पर्छन् । प्रदेशका सबै जिल्लालाई जोड्ने सडकहरू सुर्खेतबाटै सुरु भएका छन् ।
प्रदेशकै प्रवेशद्वार भएका कारण पनि सुर्खेतलाई प्रादेशिक राजधानी बनाउनुपर्ने आवाज बलियो छ । सडक सञ्जालको केन्द्रमा भएकाले पनि सुर्खेतमा राजधानी हुँदा सहज हुने सर्वसाधारणको बुझाइ छ ।
कर्णालीबाट उत्पादित वस्तुहरू निर्यात गर्न र प्रदेशका अन्य जिल्लामा आयात गर्नका लागि पनि सहज देखिन्छ । राजधानीको चर्चा र सडक सञ्जालको केन्द्रविन्दु भएकै कारण पछिल्लो समय सुर्खेतमा घडेरी खरिद गर्नेहरूको संख्या पनि बढ्दै गएको छ । यस्तै घर निर्माणको क्रम पनि एकाएक बढेको वीरेन्द्रनगर नगरपालिका बताउँछ ।
वीरेन्द्रनगरको ईतिवृत्त
प्रादेशिक राजधानीको चर्चा बटुलेको वीरेन्द्रनगरको इतिहास त्यति लामो छैन । २०२३ सालसम्म यहाँ बस्ती नै थिएन । औलो लाग्ने त्रासले मानव बस्ती बसेको थिएन । सरकारले २०१९ सालमा औलोमुक्त घोषणा गरेपछि मात्र २०२३ सालपछि विस्तारै वीरेन्द्रनगरमा बस्ती विस्तार भएको हो । त्यसअघि जिल्लाको सदरमुकाम पनि गढीमा थियो ।
मानव बस्ती विस्तार भएपछि मात्र सदरमुकाम पनि वीरेन्द्रनगरमा सारियो । ‘सुर्खेत इतिवृत्त’ पुस्तकका लेखक सुशील शर्माका अनुसार वीरेन्द्रनगर पुरानो सहर नभए पनि भाग्यमानी सहर हो । तत्कालीन राजा वीरेन्द्रको पालामा २०३७ सालमा वीरेन्द्रनगरलाई मध्यपश्चिम विकास क्षेत्रको सदरमुकाम तोकियो ।
यद्यपि क्षेत्रीय सदरमुकामका लागि नेपालगन्ज र सुर्खेतबीच तानातान थियो । तर राजा वीरेन्द्रले वीरेन्द्रनगरलाई नै सदरमुकाम तोके । शर्मा भन्नछन्, ‘वीरेन्द्रनगर त भाग्यमानी सहर हो, पहिले क्षेत्रीय सदरमुकाम पायो । अहिले पनि प्रदेशको राजधानी पाउने भएको छ, अब कसैले चाहेर पनि रोक्न सक्दैन ।’ भौतिक पूर्वाधार र सुगमताका आधारमा पनि वीरेन्द्रनगर राजधानीका लागि योग्य रहेको उनको तर्क छ ।
‘सुदूरपश्चिममा गाभिएको भए त कम सम्भावना थियो, तर अब सुर्खेतलाई राजधानी हुनबाट कसैले रोक्न सक्दैन’ मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक तेजविक्रम बस्नेत भन्छन्, ‘हामीले सीमाकंनविरुद्ध आन्दोलन ग¥यौं, छैठौं प्रदेश घोषणा भयो । वीरेन्द्रनगर भाग्यभानी नै हो, गुमेको अस्तित्व पनि फिर्ता पायौं ।’
अहिले पनि वीरेन्द्रनगरको विकास गुरुयोजना अनुसार भइरहेको छ । माधवभक्त माथेमाको नेतृत्वमा निर्माण भएको गुरुयोजना अनुसार नै सहर विकास भइरहेको छ । उक्त गुरुयोजना अनुसार सहर विकास भएका कारण पनि राजधानीका लागि उपयुक्त सहर बन्ने आधार तय गरिदिएको हो ।