☰ open Loading... 18 May 2024|  

अवैध मदिरामा सुर्खेत प्रहरीको बेमौसमी नजर
  | २० पुष २०७४, बिहीबार १६:४३

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको नेतृत्व परिवर्तन भएसंगै हंगामा मच्चाउन खोज्ने नयाँ नेतृत्वले फेरी ‘अवैध मदिरा क्लिन स्वीप’ अभियान थालेको छ । बुधबार र बिहीबार गरी दुई दिनमा सुर्खेत प्रहरीले पाँचसय बढी घरेलु मदिरा बरामद ग¥यो । बरामद मदिरा बिहीबार पत्रकार र करदाता सेवा कार्यालय सुर्खेतको रोहवरमा नष्ट समेत ग¥यो ।


तर यो अभियान नयाँ नेतृत्व आएको बेला मात्रै प्रहरीले जोडतोडले लागेपनि अन्य समय शिथिल हुने गरेको तर्क आम नागरिकको छ । प्रतिनिधि र प्रदेश सभा निर्वाचन अगावै सुर्खेत प्रहरीको जिम्मेवारी सम्हालेका एसपी उमाप्रसाद चर्तुवेदीले बुधबार मात्रै यो अभियानलाई सार्थकता दिन टोल टोलमा प्रहरी परिचालन गरे ।

केही दिन अघि मात्रै जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी निरिक्षकमा शंकर श्रेष्ठले प्रवेश पाए । एसपी चर्तुवेदी र प्रहरी निरिक्षक श्रेष्ठले एकै दिनमा यतिको ठुलो मात्रामा घरेलु मदिरा जफत गरे । घरेलु हिंसाको जड घरेलु मदिरा मुख्य कारक मानिन्छ । नयाँ नेतृत्वले देखाउनकै लागि मौसमी अभियान थाल्दा अवैध मदिराले प्रसय पाइरहेको आम नागरिकको बुझाई छ ।


वीरेन्द्रनगरका विभिन्न ठाउँहरुबाट प्रहरीले घरेलु मदिरा बनाउन प्रयोग गरिने सामग्रीसहित तयारी अवस्थामा रहेको पाँचसय लिटर मदिरा बरामद ग¥यो । यो अभियान झण्डै एकवर्षको अवधिमा बुधबारबाट थालेको हो । वीरेन्द्रनगरका साना होटर र कटेजहरुमा छ्यापछ्याप्ती पाइने घरेलु मदिरा नियन्त्रण अभियान मासिक रुपमा गर्नुपर्ने तर्क स्थानीय कल्पना थापाको छ । ‘प्रहरीले नयाँ नेतृत्वमा आए मात्रै अभियान थाल्छ, अन्य समयमा तैँ चुप मैँ चुपको अवस्थामा हुन्छ’ थापा भन्छिन्,–‘थाल बजाएर हात्ती भगाउन खोज्नुभन्दा नियमितता हुनु राम्रो हुन्छ ।’


कति जफत भयो मदिरा ?
दुई दिनको अवधिमा मात्रै प्रहरीले ग्यालिनमा तयारी मदिरा ८० वटा, जम्बो बोत्तल ८० वटा, प्लाष्टिकको ठुलो भाडा ५३ थान, मिनरल वाटर २३ बोत्तल, रक्सी बनाउन प्रयोग हुने भाडा ९ थान, फिल्टर ५ थान र डेक्ची २ थान बरामद गरेको छ ।


के भन्छन् एसपी ?
सदरमुकाम वीरेन्द्रनगर आसपासका क्षेत्रहरुबाट अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमाप्रसाद चर्तुवेदीले जानकारी दिए । उनले यो अभियान क्षणिक नभइ निरन्तर चल्ने दावी गरे । ‘सदरमुकाम क्षेत्रमा रहेका साना होटलहरुमा घरेलु मदिराको बिक्री वितरण अत्यधिक भएको पायौं’ एसपी चर्तुवेदीले भने,–‘मदिरा उत्पादन गरिने क्षेत्रमा नियमित छड्के अनुगमन जारी राख्नेछौं, मदिरा नियन्त्रण गर्ने अभियान मौसमी हुनेछैन् ।’