दाङ । साउन २० मा बबई गाउँपालिकाको सभाले हंसपुरको केन्द्रलाई हापुरे सार्ने निर्णय गर्यो । यही विषयमा गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल र कार्यकारी अधिकृत नेखिराम ओलीबीच तीव्र विवाद भयो ।
ओलीको घर हंसपुर नजिकै भएकाले उनले केन्द्र हापुरे सार्ने निर्णय रुचाएनन् । पौडेलको घर हापुरे भएकाले उनी केन्द्र सारेरै छाड्ने निधोमा पुगे ।
हंसपुरमा कार्यालय हुँदासम्म धेरै समस्या भएन । हापुरेबाट काम सुरु गरेपछि विवाद अदालतसम्म पुग्यो । गाउँपालिकाको निर्णयविरुद्ध उच्च अदालत तुलसीपुरमा रिट दायर भयो । उच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र ईश्वरराज आचार्यको संयुक्त इजलासले सोमबार रिटको सुनुवाइ गर्दै तत्काल हंसपुर केन्द्रबाटै काम गर्न गाउँपालिकाको नाममा अन्तरिम आदेश जारी गरेका छन् ।
गाउँपालिकाले केन्द्र सार्ने निर्णय गरेर संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सिफारिस गरेको थियो । निर्णयअनुसार हापुरेमा केन्द्र सारेर काम पनि सुरु भइसकेको छ । सभाले सर्वसम्मत रूपमा केन्द्र सार्ने निर्णय गरेको र सोही अनुसार निर्णय कार्यान्वयन गरिरहेको अध्यक्ष पौडेलले बताए । ‘हामीले प्रक्रिया पुर्याएर सबैलाई पायक पर्ने र सुविधाजनक ठाउँमा केन्द्र सारेका छौं,’ उनले भने, ‘यसमा अनावश्यक राजनीति गरेर विवाद बढाइएको छ ।’
हापुरे सशस्त्र द्वन्द्वकालमा सरकार र माओवादीका बीच वार्ता भएका कारण चर्चामा आएको ठाउँ हो । हापुरेमा बैंक, प्रहरी कार्यालय, ल्यान्डलाइन फोन, नेट सेवा तथा सवारी साधनको सहज पहुँच भएकाले सबैको पायक पर्ने ठाउँमा केन्द्र सारिएको पौडेलको दाबी छ ।
शान्तिनगर गाउँपालिकाले पनि चिराघाटबाट जुम्लेकुलामा केन्द्र सार्ने निर्णय गरेको छ । यसको पनि विरोध भइरहेको छ । जनप्रतिनिधिलाई एकपछि अर्को विवाद र झमेला मिलाउँदैमा ठिक्क छ ।
घोराही उपमहानगरपालिका–१६ करौतीडाँडास्थित ल्यान्डफिल साइट क्षेत्रका बासिन्दाले फोहोरका कारण दुर्गन्ध फैलिएको भन्दै फोहोर फाल्न रोक लगाए । ल्यान्डफिल साइटको मूल गेटमा तालाबन्दी नै गरे । उपमहानगरपालिकाको टोली धेरैपटक छलफल गर्न गयो तर कुरा मिलेन । अन्ततस् उपमहानगरपालिकाले प्रहरीको सहायताले बल प्रयोग गरी ताला फुटायो । केही आन्दोलनकारीलाई नियन्त्रणमा लियो । अहिले पनि स्थानीय आन्दोलित छन् । जनप्रतिनिधिलाई समस्या मिलाउन सकस परिरहेको छ ।
‘पहिले भोट माग्दा ल्यान्डफिल साइट अन्तै सारिदिन्छौं भने । हामीलाई घरघरमा आएर नमस्कार गरे,’ स्थानीय पुनम सुनारले भनिन्, ‘अहिले प्रहरी लगाएर कुटपिट गर्न थाले । आन्दोलन गरिरहे गोली हान्छौं भन्छन् । हामीले भोट हालेर चुनेको यसकै लागि हो रु’ ल्यान्डफिल साइटको दुर्गन्धका कारण विभिन्न रोग फैलने गरेको र यसबाट ३ सय घरधुरी प्रभावित भएको स्थानीय अगुवा अमरबहादुर केसीले बताए । यसअघि उपमहानगरपालिकाले १९ वटै वडामा फोहोर व्यवस्थापन गर्ने सहमति गरे पनि पालना नगरेको उनले गुनासो गरे ।
घोराही–१४ स्थित तरकारी मण्डीमा सोमबार जनप्रतिनिधि गएर टहरा निकालेर फालिदिए, केही सामान जफत गरे । बिनासूचना एकाएक तरकारी छोपेका त्रिपाल उठाइदिएको र तौलका सामान लगिदिएको भन्दै स्थानीयले विरोध गरेका छन् । नियमअनुसार तरकारी बिक्री गर्दा पनि बजारको सौन्दर्य बिगारेको र फोहोर भएको भन्दै जनप्रतिनिधिले गुन्डागर्दी शैलीमा सामान जफत गरिदिएको तरकारी बजार उपसमितिका संयोजक बदु्रदीन राईले बताए ।
‘जनताले भोट हालेर पठाएका मान्छेले जनतामाथि नै ज्यादती गर्न पाइन्छ रु’ उनले भने, ‘हामीलाई पूर्वजानकारी दिएर यसो नगर्नु भनेको भए हुन्थ्यो । एकाएक आएर हाम्रो व्यवसायमाथि हस्तक्षेप गर्न कहाँ पाइन्छ रु’ घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नगरलाई व्यवस्थित गर्ने प्रयास गरिरहेको र यस क्रममा आउने विवादलाई छलफलबाटै टुंग्याउँदै जाने बताए ।
#इकान्तिपुर