☰ open Loading... 2 May 2024|  

तोकिएन प्रदेश मुकाम र प्रमुख
  | २२ पुष २०७४, शनिबार १०:०१

काठमाडौं । प्रदेश प्रमुख तथा अस्थायी मुकाम तोक्ने अपेक्षा गरिएको शुक्रबारको मन्त्रिपरिषद् बैठकले यी दुवै विषयमा निर्णय लिन सकेन । प्रदेश प्रमुख, मुकाम तोक्ने काम सरकारको भएको भन्दै बिहीबार सर्वदलीय बैठकले सरकारलाई निर्णय लिन सहमति दिएको थियो । सर्वदलीय बैठकको भोलिपल्ट शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई विषय टुंग्याउने अपेक्षा गरिए पनि सरकारले राष्ट्रियसभा निर्वाचन माघ २४ मा गराउने मात्रै निर्णय लिएको छ ।

 

प्रदेश प्रमुखका लागि चर्चा गरिएका नामावली तथा अस्थायी मुकाम तोक्ने विषयमा सत्तारुढ दलभित्रै व्यापक छलफल हुन नसक्दा शुक्रबार सरकारले यो विषयमा निर्णय लिन नसकेको सरकारी अधिकारीले बताएका छन् । तर, सरकारी अधिकारीले प्रदेश प्रमुख र अस्थायी मुकाम मन्त्रिपरिषद्को आगामी बैठकबाट तोक्ने गरी गृहकार्य भइरहेको जनाएका छन् ।

अपजस आउने काम भएकाले पाँच दलको सहमतिमै गर्ने तर ठोस सहमति नभए पनि आगामी मन्त्रिपरिषद् बैठकबाट निर्णय लिने सरकारको योजना छ । सर्वदलीय बैठकमा वाम गठबन्धनका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश प्रमुख, प्रदेशहरूको सदरमुकाम र राष्ट्रियसभा निर्वाचन मिति तोक्न सरकार एक्लैले सक्ने भन्दै त्यसका सहमति जुटाइरहनु नपर्ने धारणा व्यक्त गरेका थिए ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सरकारले प्रदेश प्रमुख र मुकाम तोक्न सहमतिको प्रयास भइरहेको जनाउँदै सहमति नभए पनि आगामी मन्त्रिपरिषद् बैठकबाट निर्णय लिइने बताए । उनले अन्नपूर्णसँग भने, ‘सरकारले सहमतिकै लागि प्रयास गरिरहेको छ । सहमति नभए पनि आगामी बैठकले यसमा निर्णय लिन्छ ।’

सात वटा प्रदेश प्रमुखको नियुक्तिमा वाम गठबन्धनबाट प्रतिनिधित्व गराउने प्रयासमा कांग्रेस रहेको स्रोतले बताएको छ । ‘कांग्रेसले आफ्नो भागमा तीन, वाम गठबन्धनलाई दुई र मधेसवादीलाई दुई गरी सात प्रमुख नियुक्त गर्ने रणनीतिमा गृहकार्य गरिरहेको छ । यो रणनीति असफल भए कांग्रेसले आफ्ना तर्फबाट चार र अन्यलाई तीन प्रदेश प्रमुख दिने गरी निर्णय गर्छ’, स्रोतले भन्यो ।

एमाले उपाध्यक्ष भीमबहादुर रावलले आफूहरूले राष्ट्रियसभा निर्वाचन मिति, प्रदेश प्रमुख र प्रदशेहरूको मुकाम तोक्न सरकारलाई सर्वाधिकार दिएको बिहीबारको सर्वदलीय बैठकपछि बताएका थिए । उनले भने, ‘मन्त्रिपरिषद् वा प्रधानमन्त्रीले पाएको जिम्मेवारी वहन गर्न सक्दैनन् । आफ्नो जिम्मेवारी र दायित्वबाट पन्छिनु राम्रो हुँदैन ।’

एमाले प्रदेश प्रमुख र प्रदेशहरूको मुकाम तोक्ने कार्य पहिल्यै हुनुपर्ने मान्यतामा रहेको उनले बताए । रावलले भने, ‘अहिले आएर पनि सरकारले आफ्नो कर्तव्य पूरा गर्न नसक्नु गैरजिम्मेवारीको पराकाष्ठा हो ।’

कांग्रेस नेता बालकृष्ण खाँणले प्रदेश प्रमुख र मुकाम यसै साता तोकिने जानकारी दिए । ताजा जनादेशअनुसार सरकार गठनका लागि मार्गप्रशस्त गर्न सरकारले राष्ट्रियसभा निर्वाचन मिति तय गरेको दाबी खाँणले गरे ।